बैकिङ प्रणालीमा थुप्रियो सवा ६ खर्ब, ब्याजदर अझै घट्ने संकेत – Nepal Press

बैकिङ प्रणालीमा थुप्रियो सवा ६ खर्ब, ब्याजदर अझै घट्ने संकेत

काठमाडौं । मुलुकमा चाडवाडले छपक्कै छोपिसकेको छ । दशैं तथा तिहार नेपालीहरुको मुख्य चाडपर्वको रुपमा लिइन्छ । यही बेला सामानहरु अधिक आयात हुने गरेको छ । तर यो साउनमा ०.६७ प्रतिशतले आयात घटेको छ । भदौको तथ्यांक आउन बाँकी छ ।

अर्कोतर्फ वर्ष भरिमा हुने व्यापारको ४० प्रतिशत व्यापार यही सिजनमा हुने गरेको व्यवसायीहरु बताउँदै आएका छन् । यही सिजनमा आयातका नाममा बैंकिङ प्रणालीबाट ऋण प्रवाह पनि बढ्दो हुने गरेको थियो । तर केही वर्षयता चाडवाडले समेत रौनक थप्न सकेको छैन । अधिकांश बैंकहरुले सोचेका थिए यस पटक चाहिँ चाडवाडमा आयातका लागि भएपनि ऋणको माग बढी आउला भनेर ।

बैंकर्स संघका कार्यकारी सदस्य तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सुदेश खालिङ) चाडवाड लागेपनि बैकिङ प्रणालीको ऋण प्रवाह बढ्न नसकेको बताउँछन् ।

खालिङ भन्छन, ‘ऋणको अतिरिक्त माग छैन । नाडा अटो शोमा बुकिङ भएका गाडी आयातका लागि प्रतितपत्र खोलिएका छन् । केही ऋण शेयर बजारतिर गएको छ । त्यो बाहेक अन्यत्रको माग निकै कम छ । यस्तै अवस्था रहे निक्षेपको ब्याजदर अझै घट्छ । निक्षेपकर्ताले भएको पैसा अन्त लगाउँदा त्यो कतिको सुरक्षित स्थानमा जान्छ भन्ने विषयलाई गहन अध्ययन गर्नु जरुरी छ ।’

यद्यपि, खालिङ आवद्ध नेपाल बैकर्स संघले भदौको २१ दिनमा २९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखाउँछ ।

यो तथ्यांकबाट खालिङ तत्काल अधिक तरलताको समस्या तत्काल समाधान होला भन्नेमा विश्वस्त छैनन् । यो कर्जा नाडा अटोशोमा बुकिङ भएको ४ हजारभन्दा बढी गाडी आयातका लागि गएको हुनसक्ने उनको बुझाइ छ ।

खालिङले रेमिट्यान्स बढे पनि नेपालमा त्यसको प्रयोग गर्ने मान्छे नभएको र युवा जति विदेशिएको बताए ।

अहिले बैकिङ उद्योगमा ६४ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । निक्षेपको ९० प्रतिशतसम्म बैंकहरुले कर्जा लगानी गर्न पाउँछन् । अहिले कर्जा लगानी ५१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । यस आधारमा ९० प्रतिशतसम्म कर्जा लगानी हुँदा ५८ खर्ब २२ अर्ब रुपैयाँ हुन्थ्यो । तर अहिले औसतमा ७८.९८ प्रतिशतसम्म कर्जा लगानी भएको देखिन्छ । यसलाई आधार मान्दा बैकिङ प्रणालीमा अझै ६ खर्ब २३ अर्ब रुपैयाँ ऋण योग्य रकम रहेको देखिन्छ ।

अधिक तरलताको व्यवस्थापन कसरी होला भन्ने विषयमा पनि बैंकहरु पर्ख र हेरको अवस्थामा रहेको खालिङले बताए ।

यता, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल बाह्य अर्थतन्त्र सुधार भएपनि आन्तरिक अर्थतन्त्रका केही सुचक अझै दबाबमा रहेका कारण बैकिङ क्षेत्रको अधिक तरलताको व्यवस्थापनमा समस्या भएको बताउँछन् ।

उसो त राष्ट्र बैंकले अल्पकालीन समाधानको प्रयास नगरेको होइन । अर्थतन्त्रले गति नलिएसम्म बैंकिङ क्षेत्र मात्रै सुधार नआउने जानकारहरु बताउँछन् ।

यता व्यवसायीहरु पनि यसपटक व्यवसाय बढ्ने आशमा छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल व्यापार व्यवसाय बढ्नुपर्ने सिजन भएपनि खासै उत्साह ल्याउन नसकेको र आर्थिक शिथिलताको धङधङी कामयमै रहेको बताउँछन् ।

ब्याजदर अझै सस्तो हुने

बैंकहरु अहिले निक्षेप धेरै नआओस् भन्ने देखिएका छन् । निक्षेपकर्ताले ल्याएको रकम राख्दैनौ भन्न बैंकर्सले सक्तैनन् । त्यसकारण निक्षेप नआओस् भन्नका लागि बैंकहरुले ब्याजदरकै साहारा लिएका छन् । निक्षेपकर्तालाई आकर्षित र विकर्षित दुवैका लागि प्रयोग हुने उपकरण भनेको ब्याजदर हो ।

बैंकहरुमा ज्यादा ऋण प्रवाह हुन थालेपछि निक्षेप आकर्षित गर्न ब्याजदर बढाउँछन् भने निक्षेप धेरै नथुपार्न ब्याजदर घटाउने गरेका छन् । अहिले निक्षेपको ब्याजदर निकै न्युन भइसकेको छ । बैंकहरुमा भएको निक्षेप पनि राष्ट्र बैंकले हरेक दिन जसो उठाइरहेको छ ।

चालू वर्ष साउन र भदौको २० गतेभित्र मात्रै ५६ खर्ब ७५ अर्ब १० करोड रुपैयाँ स्थायी निक्षेप सुविधा (स्ट्याण्डिङ डिपोजिट फ्यासिलिटि, एसडिएफ) मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट पैसा उठाएको छ ।

हप्ताका तीन दिन बैंक तथा वित्तिय संस्थाले स्थायी निक्षेप सुविधा (एसडिएफ) उपभोग गर्न पाउँछन् । यस्तै, २१ दिने निक्षेप संकलनमार्फत चालू आर्थिक वर्षको करिब २ महिनामा ३ खर्ब ९० अर्ब ६० करोड रुपैयाँ उठाइसकेको छ ।

साधारण निक्षेपमै पाइने ब्याजदर अहिले मुद्दती निक्षेपमा दिन थालिएको छ । बैंकहरुको मुद्दतीको औसत ब्याजदर ६.५३ प्रतिशत छ । हरेक महिनाजसो ब्याजदर घटिरहेको छ । यो ब्याजदर अझै घट्ने बैंकर्र्सहरु बताउँछन् । अहिले साधारण निक्षेपको ब्याजदर ३ प्रतिशतमै झरिसकेको छ ।

बैकिङ विज्ञ भुवन दाहाल भने नयाँ सरकार गठन भएसँगै सकारात्मक संकेतहरु देखिएको र विस्तारै बैकिङ क्षेत्रको समस्या समाधान हुदै जाने बताउँछन् ।

यता नेपाल राष्ट्र बैंकले पनि बैंकहरुले काउन्टर साइक्लिकल बफर कायम गर्न नपर्ने गरी सहुलियत दिएको छ । यसले बैंकहरुको पुँजीकोष दबावमा राहत मिल्ने देखिन्छ । यद्यपि अहिलेको अवस्थामा तत्काल बैंकहरु अधिक तरलताको समस्याबाट मुक्त हुने अवस्था भने देखिएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर