के जिबी राई काठमाडौं छिरेका हुन् ? मलेसियामा भेटिएर पनि पक्राउ परेनन् – Nepal Press

के जिबी राई काठमाडौं छिरेका हुन् ? मलेसियामा भेटिएर पनि पक्राउ परेनन्

प्रहरीको दाबीअनुसार मलेसियामा मार्ट चलाएर बसिरहेका थिए राई, अहिले देखिन छोडे

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जिबी) राई भारतीय बाटो हुँदै नेपाल प्रवेश गरेको आशंका प्रहरीले गरेको छ । मलेसियामा लुक्दै आएको सूचना पाएपछि उनलाई समात्न भनेर गएको प्रहरी टोली रित्तो हात फर्किएको थियो ।

नेपाल प्रहरीले परराष्ट्र मन्त्रालयको समन्वयमा राईको खोजीका निम्ति उपरीक्षक (एसपी) र वरिष्ठ नायब निरीक्षक (सई) सहितको टोली पठाएको थियो । उच्च प्रहरी स्रोतका अनुसार पक्राउ गर्न नसकेपछि उक्त टोली स्वदेश फर्कियो । त्यसलगत्तै राई मलेसियामा देखिन छाडे । पक्राउ गर्न नसके पनि नेपाल प्रहरीले उनको निगरानीका निम्ति एक संयन्त्र बनाएको दाबी स्रोतको छ ।

‘खोजी गर्न गएको टोली एक सातासम्म मलेसियामा रह्यो’, स्रोतले भन्यो, ‘टोली त्यहाँको प्रहरीसँग समन्वयमै थियो, तर पक्राउ गर्न सकेन ।’ उक्त स्रोतले जनाएअनुसार राईको बसोबास र कारोबारस्थल पहिचान भइसकेको अवस्थामा पनि मलेसिया प्रहरीले उनलाई पक्राउ गरी नेपाल ल्याउने अनुमति दिएन ।

राई मलेसियामा सपिङ मार्ट सञ्चालन गर्दै बसेको र नेपालबाट गएको प्रहरी टोलीले उनलाई त्यहीँ फेला पारेको थियो ।

‘क्वालालम्पुरको देशापण्डनमा अपार्टमेन्ट लिएर उनी बसेका छन्, मार्ट पनि त्यसको नजिकै छ’, प्रहरी स्रोतले जनाएको छ ।

एक देशको प्रहरीले अर्को देशमा गएर कोही व्यक्तिसँग पक्राउ वा सोधपुछ गर्ने अधिकार राख्दैन । त्यस प्रयोजनका निम्ति नेपाली प्रहरी टोलीले इन्टरपोल र परराष्ट्र मन्त्रालयको पत्रसहित मलेसिया प्रहरीसँग अनुरोध गर्यो, तर मलेसिया प्रहरीले पक्राउ गर्न अस्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।

मलेसियासँग सुपुर्दगी सन्धी नभएको कारण प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल) मार्फत उनलाई नेपाल ल्याउने प्रयास थियो । मलेसिया प्रहरी पनि इन्टरपोलको सदस्य हो । तर, उसले व्यापारिक प्रयोजनका लागि आश्रय दिएका व्यक्तिलाई नागरिकसरहको व्यवहार गर्ने भन्दै बिनासुपुर्दगी सन्धि कोही पनि व्यक्ति अर्को देशमा नपठाइने अडान लिएको प्रहरी स्रोतले जनाएको छ । राई मलेसिया सरकारले विदेशी लगानीकर्ताका लागि सुविधा दिने अवधारणाअनुसार चलाएको ‘मेक मलेसिया माई सेकेण्ड होम’ कार्यक्रमअन्तर्गत त्यहाँ आश्रित व्यक्ति हुन् ।

त्यसपछि जिबी बेपत्ता…

‘पक्राउ गर्न असफल भए पनि सिंगापुरमै एक संयन्त्रमार्फत निगरानी गर्ने क्रम चलिरहेको थियो’, स्रोतले भन्यो, ‘पक्राउ गर्न गएको टोली फर्किएलगत्तैबाट उनी मार्टमा देखिन छाडे ।’

नेपालमा जस्तो मलेसियामा विदेशी प्रहरी वा गुप्तचरले कोही व्यक्तिको वैयक्तिक विवरण संकलन गर्ने अधिकार राख्दैन । नेपालमा जस्तो लोकेशन ट्रेस, कल डिटेल्सको अध्ययन गर्ने काम सम्भव नहुँदा मलेसियामा देखिन छाडेका राई कहाँ पुगे भन्ने प्रमाणिक तथ्य नेपालको प्रहरीसँग छैन । तर, प्रहरीकै गुप्तचरी सूचनाअनुसार उनी भारतीय बाटो हुँदै काठमाडौंसम्म आइपुगेका छन् ।

प्रहरीको गुप्तचरी सूचनाअनुसार उनी केही समय ललितपुर, इमाडोलस्थित बुढाथोकी थरका कानून व्यवसायीको घरमा देखिएका थिए । त्यसपछि पनि उच्च राजनीतिक संरक्षणका साथ काठमाडौं उपत्यकाभित्रै रहेको सूचना प्रहरीसँग छ ।

प्रतिनिधिसभाका सदस्य सूर्य थापाको संयोजकत्वमा गठित सात सदस्यीय सहकारी अपचलन छानबिन समितिले उक्त प्रकरणमा संलग्न रही विदेशमा लुक्दै आएका व्यक्तिहरु पक्राउ गर्नुपर्ने सूचीमा राई पनि थिए । भनिन्छ, आफूसँग भएका विभिन्न कागजात मिलाउन र प्रमाण सुरक्षित गर्ने काममा उनी सक्रिय छन् ।

‘सबै काम सकिएपछि पत्रकार सम्मेलन गरेरै प्रहरीमा आत्मसमर्पण गर्न सक्छन्’, प्रहरी स्रोतको अनुमान छ ।

राई आफैं अध्यक्ष रही पोखरामा सूर्यदर्शन सहकारी, काठमाडौंमा स्वर्णलक्ष्मीसहित विभिन्न शहरमा सहकारी कारोबार गर्ने क्रममा बचनकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोप लागेको छ । उनले सञ्चालन गरेको ग्यालेक्सी फोर के टेलिभिजनमा सहकारीबाट रकम प्रवाहित भएको छ । त्यस आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि उक्त प्रकरणमा मुछिएका छन् । लामिछाने टेलिभिजनको प्रबन्ध निर्देशक थिए ।

सहकारी ठगी प्रकरणको छानबिनका क्रममा राईमाथि सोधपुछ हुनै लाग्दा उनी भारतीय बाटो हुँदै मलेसिया भित्रिएको प्रहरीको सूचना छ । नेपालमा उनलाई यात्रा प्रतिबन्ध लगाउँदै अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विवरणमा उनको नाम कालो सूचीमा थियो । ‘त्यसपछि स्थलमार्ग हुँदै देश छाडेका थिए’, स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *