कांग्रेसलाई रास्वपाको प्रश्न- धनराज गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सको छानबिन गर्ने कि नगर्ने ? (भिडिओ) – Nepal Press

कांग्रेसलाई रास्वपाको प्रश्न- धनराज गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सको छानबिन गर्ने कि नगर्ने ? (भिडिओ)

जिबी राईले एपीवान टिभीमा सहकारीको पैसा हालेको रास्वपा सांसद गणेश पराजुलीको दावी,विचौलिया रामेश्वर थापामाथि छानविन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस उपसभापति धनराज गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सबारे छानविन गर्न माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले अब उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै कांग्रेस सांसदहरूलाई प्रश्न गरे ।

उनले भने, ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के-के सम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ ।’

सहकारी ठगीलाई लुकाउनको लागि नक्कली सम्बन्ध विच्छेद गरेको कुरालाई पनि छानबिन गर्न उनले माग गरे ।

उनले अब पार्टी उपसभापतिको विषयमा दोहोरो मापदण्ड बनाउने हो ? भन्दै कांग्रेसलाई प्रश्न गरे । सांसद पराजुलीले एपीवान टीभी चलाउन पनि जीवी राईले लगानी गरेको कुरा आएको बताए ।

उनले भने, ‘त्यो लगानी सहकारीबाट लगिएको थियो कि थिएन भनेर छानबिन गर्ने कि नगर्ने ? सरकार बनाउन भूमिका खेल्ने त्यो टीभीका मालिकलाई सरकारले छानबिन गर्ने हिम्मत राख्छ कि राख्दैन ? गृहमन्त्रीको जवाफ चाहन्छु ।’

एपिवान टिभीका मालिक क्याप्टेन रामेश्वर थापा हुन् । उनकै घरमा कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ७ बुँदै सम्झौता भएपछि नयाँ सरकार बनेको थियो । उनी दिपक भट्टपछिका शक्तिसाली बिचौलियाका रुपमा चिनिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर