डिजिटल कारोबारको १० प्रतिशत भ्याट रकम फिर्ता हुने, यस्ता छन् शर्त – Nepal Press

डिजिटल कारोबारको १० प्रतिशत भ्याट रकम फिर्ता हुने, यस्ता छन् शर्त

काठमाडौं । उपभोक्ताले विद्युतीय कारोबारको क्रममा उपभोक्ताले तिरेको १० प्रतिशत भ्याट रकम फिर्ता हुने भएको छ । आन्तरिक राजस्व विभागले निर्धारण गरेको वस्तु वा सेवा खरिद गर्दा गरेको भुक्तानीमा लागेको भ्याट फिर्ता हुने सूचनामार्फत् जनाइएको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ भन्ने उल्लेख गरिएको छ ।

सोही अनुरूप विभागको भदौ २१ को निर्णयानुसार डिजिटल भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय भएको हो । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवामा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेना गृहबाट प्रदान हुने सेवा, सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस व्यवसायबाट प्रदान गरिने सेवा रहेका छन् । यिनीहरूको भुक्तानी विद्युतीय माध्यमबाट भएमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता हुने विभागले जनाएको छ । तर, यसका लागि विभागले ५ वटा शर्त निर्धारण गरेको छ ।

यस्ता छन् शर्त

१. मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यस प्रणालीमा आवद्ध हुन सक्नेछन् ।

२. डेबिट / क्रेडिट कार्ड, क्यू. आर. कोड, मोबाईल जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले मूल्य अभिवृद्धि करको दश प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

३. विद्युतीय बिजकसम्बन्धी कार्यविधि, २०७४ (संशोधनसहित) वमोजिम आन्तरिक राजस्व विभागमा सूचीकृत भएका विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्ताले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्वन्धि कार्यप्रक्रिया, २०७६” वमोजिम प्रणालीमा सामञ्जस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्नुपर्नेछ ।

४. सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्वन्धि कार्यप्रक्रिया, २०७६ वमोजिम प्रणालीमा परिमार्जन गरि यो प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने छ ।

५. प्रणालीमा आवद्ध बिक्रेताले आफ्नो कारोबार स्थलमा विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको सूचना सार्वजनिक गर्नुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *