ममता काफ्ले बेपत्ता प्रकरण- ‘गो फन्ड मी’ बाट २० हजार डलर उठाएकी नाडिया विवादमा
काठमाडौं । अमेरिकामा नेपाली चेली ममता काफ्ले बेपत्ता भएको डेढ महिना बितिसक्दा पनि उनको सास वा लास फेला परेको छैन । प्रहरीले खोजतलास जारी राख्दा नेपाली समुदायले निरन्तर प्रभावकारी अनुसन्धानका लागि दबाब दिइरहेका छन् ।
अहिले यो प्रकरणमा एक अमेरिकी युवतीको नाम चर्चामा आएको छ । उनी हुन्, नाडिया नभारो । उनका पछिल्ला गतिविधिहरूलाई लिएर नेपाली समुदायबीच विभिन्न प्रश्नहरू उठिरहेका छन् । प्रहरीले समेत उनलाई बोलाएर बयान लिएको थियो ।
खासमा नाडिया ममताकै मिल्ने साथी हुन् । ममता बेपत्ता भएपश्चात् उनले खोजी अभियान सञ्चालन गर्दै आएकी छन् । नाडियाले ममताको खोजीका लागि भनेर गो फन्ड मीमा सहायता आह्वानसमेत गरिन् ।
अहिलेसम्म २० हजार ३३५ डलर गो फन्ड मीबाट संकलन भएको छ । ममताकी छोरीका नेपाली समुदायले सञ्चालन गरेको गो फन्ड मी अभियान यो भन्दा फाल्टै हो । ममताको लिगेसीका लागि भनेर सञ्चालन गरिएको उक्त गो फन्ड मीबाट साढे ३ करोड रुपैयाँ संकलन भएको थियो ।
ममताका श्रीमान् नरेश भट्ट पक्राउ परेपछि उनकी एक वर्षीया छोरीको कस्टडी समेत आफूले लिन चाहन्थिन् नाडिया । तर, त्यसका लागि उनले अनुमति पाइनन् । प्रहरीले नेपाली समुदायबाटै एक युवतीलाई बच्चाको हेरचाह गर्ने जिम्मा दिएको छ । बच्चाको संरक्षण र रेखदेख सरकारले नै गर्छ ।
अहिले ममताकी आमा र दाइसमेत अमेरिका पुगिसकेका छन् । उनीहरूले बच्चाको कस्टडीका लागि अनुमति माग्ने तयारी गरे पनि प्रक्रिया पूरा भइसकेको छैन ।
अर्कोतर्फ कारागारमा नरेश भने ममताकी आमालाई कस्टडी नदिने पक्षमा छैनन् । यसका लागि उनी कारागारबाटै वकिलहरू परिचालन गरिरहेका छन् । उनी बच्चालाई आफ्नै बुवाआमाको जिम्मामा पठाउन चाहन्छन् ।
नाडियामाथि प्रश्न उठ्नुका विभिन्न कारण छन् । उनी ममताको खोजी अभियानमा सक्रिय रहे पनि नेपाली समुदायसँग उनले राम्रो समन्वय गर्न चाहिरहेकी छैनन् । उनी अदालतमा हुने सुनवाइमा उपस्थित हुन्नन् । नेपाली समुदायको आह्वानमा हुने द्वीप प्रज्वलनदेखि अन्य गतिविधिहरूमा अनुपस्थित रहन्छिन् ।
ममताका श्रीमान् नरेशसँग नाडियाको सम्बन्धलाई लिएर पनि विभिन्न आशंकाहरु उब्जिन थालेका छन् । नरेशले लामो समयदेखि एउटा गोप्य फेसबुक अकाउन्ट चलाउँदै आएको प्रहरीले पत्ता लगाएको छ । उक्त फेसबुक अकाउन्ट सीमित व्यक्तिहरू मात्रै नरेशसँग जोडिएका छन् ।
नाडिया पनि त्यो एकाउन्टमा नरेशको साथी रहेको खुलेको छ । प्रहरीले नाडियाको बयान लिने क्रममा उक्त अकाउन्टबारे सोधिएको थियो । उनले आफूले ममतालाई सोधेर नै उक्त अकाउन्टबाट आएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेको दाबी गरिन् ।
यस विषयमा उनले सामाजिक सञ्जालमा प्रष्टीकरण दिँदै भनेकी छन्, ‘धेरै समय अगाडि मलाई फ्रेन्ड रिक्वेस्ट आएको थियो । सुरुमा मैले चिनिनँ । भित्र हेर्दा ममताको फोटो देखेँ । त्यसपछि उनलाई सोधेँ । उनले मेरो श्रीमानको हो एड गर्दा हुन्छ भनेपछि फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेको हुँ । अरू साथीहरू पनि त्यसमा जोडिएका थिए । तर, ममता बेपत्ता भएपछि सबैले अनफ्रेन्ड गरेछन् क्यार । मैले चाहिँ त्यो बिर्सिसकेको थिएँ ।’
आफूले बर्षौंदेखि एक पटक पनि नरेशसँग एक्ला एक्लै कुराकानी नगरेको नाडियाको भनाइ छ । नाडिया भन्छिन्, ‘मैले हरेक पटक ममतामार्फत मात्रै उसित कुराकानी गरेको छु । छुट्टै कुराकानी कहिले पनि गरेको छैन ।’
त्यसो त एक कुराकानीमा नाडियाले आफूलाई नरेशले फलो गरेको संकेत समेत गरेकी थिइन् । ‘उसले मलाई पटक-पटक फोन गरेको थियो । म आफ्नो कारमा कतै जाँदै थिएँ, उसले फर्किन भन्यो । मैले अस्वीकार गरेँ । त्यसपछि उ रिसले चुर भएर चिच्याएको थियो,’ नाडिया भन्छिन् ।
ममताको नाममा गो फन्ड मीबाट संकलित रकमको विषयमा पनि नाडियामाथि प्रश्न उठेका छन् । अहिलेसम्म उठेको २० हजार डलर उनकै नियन्त्रणमा छ । यो पैसा कहाँ र कसरी खर्च भइरहेको छ भन्ने उनले विवरण सार्वजनिक गरेकी छैनन् । ममताको खोजीमै खर्च भइरहेको भन्दै पन्छिएकी छन् ।
उनी भन्छिन्, ‘मैले एक पेनी पनि आफ्नो व्यक्तिगत काममा खर्च गरेको छैन । सबै खोजी अभियानमा नै जान्छ । यो पैसा उनको बच्चाका लागि होइन । खोजीका लागि हो । बच्चाका लागि सहयोग गर्न चाहनेले नेपाली समुदायले सञ्चालन गरेको गो फन्ड मीमा दिन सक्नुहुन्छ ।’
सहयोग गर्ने कसैलाई आफूमाथि शंका भएमा रकम फिर्ताका लागि अनुरोध गर्न सक्ने पनि उनले बताएकी छन् ।
नाडियाले केही दिन अगाडि आफ्नो कारमा आक्रमण भएको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेकी थिइन् । तस्बिरमा उनको गाडीको सिसा फुटेको र अरू क्षति पुगेको देखिएको छ । तर, पछि उनले सो तस्बिर र पोस्ट हटाइन् ।
आफूले आवेशमा आरोप लगाएर लेखेको र पछि प्रमाणबिना लेख्नु उचित नहुने महसुस गरेर हटाएको नाडियाको तर्क छ । आफ्नो गाडी बनाउन गो फन्ड मीको पैसा दुरुपयोग नगरेको पनि उनले बताइन् ।