कारागार चलान गरिएका कांग्रेस सांसदलाई जेलरकै कोठामा मेजमानी – Nepal Press

कारागार चलान गरिएका कांग्रेस सांसदलाई जेलरकै कोठामा मेजमानी

दाङ । अदालतको फैसला कार्यान्वयनका लागि रुकुम पश्चिमको कारागार पठाइएका का‌ंग्रेस लुम्बिनीका सांसद धनबहादुर केसी उर्फ डिबीलाई जेल हालिएको छैन । उनलाई जेलरको कोठामा उच्च सम्मानका साथ राखिएको छ ।

सम्बन्ध विच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो ।

२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् ।

सांसद केसी आइतबार आफै अदालतमा उपस्थित भएपछि रूकुमकोट अदालतले फैसला कार्यान्वयनकालागि रूकुम पश्चिम कारागार चलान गरेको थियो ।

आइतबार दिउँसो ३ बजे रुकुम पश्चिम पुर्‍याइएका केसीलाई यो समाचार तयार पार्दासम्म अरू कैदीलाई राख्ने जेलमा राखिएको छैन । उनलाई जेलर ताराबहादुर कुँवरको कोठामा मेजमानीका साथ राखिएको छ ।

जेल भित्र बस्नुपर्ने केसीलाई गए राति खानपिन र सुत्ने व्यवस्था समेत जेलरकै कोठामा गरिएको कारागार स्रोतले नेपाल प्रेसलाई जानकारी दियो ।

‘सांसद केसीलाई जेल भित्र राखिएको छैन । जेलरको कोठामा खाने,बस्ने र सुत्ने सुविधा दिइएको छ,’ स्रोतले भन्यो, ‘नपत्याए हेर्न आउँदा हुन्छ ।’

यस विषयमा प्रतिक्रिया लिन खोज्दा जेलर केसी सम्पर्कमा आउन चाहेनन् । उनले कसैको पनि फोन रिसिभ गरेका छैनन् ।

कानुनतः केसी सांसदको उम्मेदवार समेत बन्न योग्य थिएनन् । तर, अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेर उनी रुकुम पूर्वको प्रदेश (ख) सांसद निर्वाचित भएका थिए ।

केसीले ११ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । मुद्दा परेपछि केसी अनुसन्धानका क्रममा १९ दिन थुनामा बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर