श्री एयरलाइन्सको विमानमा उडेको ६ मिनेटमै देखिएको थियो समस्या
काठमाडौँ । सोमबार बिहान ८ बजे ५१ जना यात्रु बोकेर श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेत उड्दै थियो । उडेको करिब ६ मिनेटमा जहाजको इन्डिकेटरमा केही समस्या देखियो ।
इन्डिकेटरमा समस्या आउनसाथ उक्त जहाजलाई पुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काइयो । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार जहाज के भएको रहेछ भनेर परीक्षण गर्नका लागि पुन: टीआइए फर्काइएको थियो ।
उक्त जहाजका ५१ जना यात्रुलाई अर्को जहाजमार्फत गन्तव्यसम्म पुर्याइदिएको मानन्धरले बताए । इन्डिकेटरमा समस्या देखिएको जहाज पनि समस्यामुक्त भएर उडानको तयारीमा रहेको उनले बताए ।
विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । अहिले विमानस्थलबाट हुने अन्य उडान पनि नियमित सञ्चालन भइरहेको छ।