राष्ट्रिय क्रिकेटर कृतिका मरासिनी अष्ट्रेलिया पलायन
रुपन्देही । नेपालको राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य कृतिका मरासिनीले नेपाल छाडेकी छन् । केही समयअघि विवाह गरेकी उनी अब अष्ट्रेलियामै सेटल हुने गरी गएकी हुन् ।
कृतिका सोमबार नै अष्ट्रेलिया उडेको उनका बुवा कमल मरासिनीले बताए । २०६१ जेठ १७ मा जन्मेकी कृतिका कमलकी एक मात्रै छोरी हुन् । उनले २०७९ मा उन्नाइस वर्षमुनि (यू–१९) महिला क्रिकेट टोलीको कप्तानी गरेकी थिइन् ।
‘हामीलाई पठाउन मन त थिएन तर यहाँ बसेर केही नहुने भयो बाबा भनिन्, उहीँको क्लबमा आबद्ध भएर खेल्ने र यहाँ ठूला प्रतियोगिता हुँदा आउँछु भनेकी छन्,’ उनले भने, ‘यहाँ खेलाडीलाई वास्तै भएन, कसरी खर्च चलाएका छन् भनेर बुझ्ने पनि कोही भएनन् ।’
नेपाल क्रिकेट सङ्घ (क्यान)ले मरासिनीलाई दुई वर्षअघि यू–१९ कप्तान नियुक्त गरेको थियो । आईसीसी यू–१९ महिला विश्वकप छनोटका लागि क्यानले उनलाई कप्तानमा चयन गरेको थियो । उनकै कप्तानीमा नेपालले ०७९ जेठ २१ गतेदेखि सुरु भएको छनोट खेलेको थियो ।
उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, चीन, भुटान, म्यानमा र कतार सहभागी भएका थिए । कृतिकाले २९ मे देखि ४ जुन २०२३ सम्म, मलेसियामा भएको खेलामा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो खेल खेलेकी थिइन् जहाँ उक्त शृङ्खला नेपालले ३–२ ले जितेको थियो।
मरासिनी बायाँहाते अर्थाेडक्स स्पिनर हुन् । उनले राष्ट्रिय टोलीबाट टी-२० पहिलो खेल २९ मे २०२३ मा मलेसियाविरूद्ध खेलेकी थिइन् । पछिल्लाेपटक उनले राष्टिय टाेलीबाट महिला एसिया कपमा सहभागीता जनाएकी थिइन्।
बुटवलको न्यू होराइजन र लुम्बिनी बोर्डिङ स्कुलमा अध्ययन गरेकी उनको अष्ट्रेलिया यात्राले धेरै खेल प्रेमीलाई निराश बनाएको छ । अर्घाखाँचीको मालारानी स्थायी घर भएका कृतिकाका बाबाआमाले बुटवलमा होटल सञ्चालन गरेका छन् । उनको विवाह भने काठमाडौंमा भएको थियाे । उनका श्रीमान् अष्ट्रेलिया बस्ने भएकाले पनि अब उनी यता फर्कने सम्भावना कम रहेको धेरैले आंकलन गरेका छन् ।
राष्ट्रको गहना, महिला क्रिकेटकी तारा कृतिका मरासिनी देश छाडेर परदेशिन बाध्य हुनुले देशको अवस्था छर्लङ्ग पारेको र युवाहरू यसरी नै पलायन हुने हो भने विकास केका लागि भन्दै स्थानीय शिक्षक कृष्ण पाण्डेले प्रश्न उठाए।
प्राध्यापक ऋषिराम भुसालले एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडी विदेश कामकै लागि पलायन हुनु देशको लागि कत्तिको फाइदाजनक होला भनेर प्रश्न गरेका छन् । युवाको पसिनाबाट आएको रेमिटान्सबाट चलेको राज्यमा यस्ता समाचारले निराशा छाएको उनले जनाएका छन् ।
कृतिकाका बुवा कमल मरासिनीले एक मात्र छोरीले देश छाडेर बिदाइ गर्दा कठोर बन्नुपरेको बताए ।
‘अष्ट्रेलियाको बसाइ सुखद रहोस् । देशले चिन्न नसकेर सयौँ खेलाडी विदेशिएको हाम्रो देशमा तिम्रो पनि नाम थपिएको छ । आफूले पाएको मान सम्मान इज्जत देशप्रतिको माया सदैव कायम रहिरहोस,’ उनले भने ।
पूर्वक्रिकेटर तथा क्रिकेट संघ लुम्बिनीका अध्यक्ष संजय गुरुङले रुपन्देही क्रिकेट टोलीमा आबद्ध, प्रदेशको टीममा पनि पर्ने चरणमा रहेको खेलाडी बाहिर गएको सुनेको तर यसको औपचारिक जानकारी आफूलाई केही नदिएको बताए ।
‘यहाँ राम्रै सुरुवात गरेकी थिइन्, तर मैले त कुनै जानकारी नै पाएको छैन । सामाजिक सन्जालबाट गएको थाहा पाएँ । उनको बिहेपछि श्रीमान् उतै बस्ने भएकाले हुनसक्छ,’ उनले भने ।