सरकारले निर्माणमा चासो नदिएपछि श्रमदानमा जुटे स्थानीय – Nepal Press

सरकारले निर्माणमा चासो नदिएपछि श्रमदानमा जुटे स्थानीय

कैलाली । सुदूरपश्चिमको अछामसहित कर्णालीका आधा दर्जन जिल्ला पुग्न प्रयोग गरिने छोटो सडकको अवस्था जर्जर बनेको छ । सडक यातायातको पहुँच भन्दा पहिले कैलालीको कटासे र बर्दियाका राजापुरबाट हटारुहरूले प्रयोग गर्दै आइरहेका चिसापानी (सोल्टा सडक दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको हो ।

२०४८ सालदेखि सुरु भएको सडक निर्माणको काम ४८ मिटर पनि पुरा भएको छैन । सुर्खेत, दैलेख कालिकोट, जुम्ला, हुम्ला , अछाम, मुगुसम्म अहिले पनि छोटो मार्गको रूपमा यही सडक प्रयोग गर्दै आइरहेका छन् । तर, सडकको अवस्थाले जोखिम बढाएपछि सडक सुधार गर्न स्थानीय जुटेका छन् ।

सरकारले निर्माण गर्ने सडक स्तरोन्नती पनि नगरेपछि नेकपा एमालेको अगुवाइमा सडक निर्माणका लागि दबाब दिन कैलालीको चिसापानी सोल्टा सडक खण्ड मर्मत अभियान थालिएको छ ।

आँखामा पट्टी कानमा तेल हालेर बसेको स्थानीय र प्रदेश सरकारको आँखा कान खोल्नका लागि दबाब स्वरूप उक्त सडक खण्ड मर्मत गरिरहेको एमालेका युवा नेता वीरेन्द्र बहादुर रावलले जानकारी दिए ।

शनिवारदेखि सुरु भएको अभियानमा सयौँ स्थानीयहरूले सडकमा ढुङ्गा मिलाउने, पहिरो आएको स्थानमा पहिरो हटाउने, जेसिभिको प्रयोग गर्दै साँघुरो ठाउँलाई खुल्ला गराउने काम अन्तिम चरणमा पुगेको उनले बताए ।

‘स्थानीय सरकार र प्रदेश सरकारले आफ्नो जिम्मेवारीमा चासो नदिएपछि हामीले दबाब दिन यस्तो अभियान थालेका हौँ,’ उनले भने ‘स्थानीयको यो सक्रियताले सरकारलाई दबाब पनि पुगेको छ, सडक सुधार पनि भएको छ ।’

सडक सुधारको लागि एमाले प्रदेश कमिटी सदस्य तथा नितर्तमान जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर थापाले जेसिभि उपलब्ध गराएका थिए ।पहिलो चरणमा कुइनेसम्मको ७ किलोमिटर सडक सुधारको काम जारी रहेको उनले बताए ।

मर्मत नहुँदा सवारी साधन सहज रूपमा चलाउन नसकिएको, दुर्घटनाको जोखिम बढेको र यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यताको अन्त्य गर्न जनश्रमदान मार्फत सडक मर्मत गर्न लागिएको उनले बताए ।

‘ विभिन्न जिल्लावासीहरूले छोटो बाटोको रूपमा प्रयोग गर्ने यो सडक सरकारले बनाउनु पर्ने हो । हामीले प्रदेश र स्थानीय तहको सरकारलाई ध्यानाकर्षण गराउन र तत्काल सवारी साधनलाई सहज होस् भन्न श्रमदान अभियान सुरु गरेका हौँ,’ थापाले भने ।

प्रत्येक वर्ष बजेट विनियोजन भएर पनि प्रभावकारी काम नभएपछि यस सडकमा जोखिम मोलेर यात्रु यात्रा गर्न बाध्य छन् । सामान्य झरीले पनि पहिरो जाने र त्यसपछि सडक अवरुद्ध हुने गर्दछ ।

कैलालीबाट कोहलपुर हुँदै सुर्खेत सदरमुकाम वीरेन्द्रनगर पुग्न करिब ६ घण्टा लाग्छ भने यो सडकबाट आधा समयमा वीरेन्द्रनगर पुग्न सकिन्छ । अछाम सदरमुकाम मङ्गलसेन पुग्न पनि झन्डै यो सडकबाट आधा दुरी काम हुन्छ । श्रमदानमा जुटेका युवाहरूले तत्काल तीनै तहको सरकारले पर्याप्त बजेट विनियोजन गरेर सडक पूर्णरुपमा कालोपत्रे गर्नुपर्ने माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *