मुख्यमन्त्रीले पुलिस लाउने चेतावनी दिएपछि पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी – Nepal Press

मुख्यमन्त्रीले पुलिस लाउने चेतावनी दिएपछि पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्ठ व्यक्तिहरुले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पनि पूर्व मुख्यमन्त्री केसीले गाडी बुझाएका थिएनन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको आग्रह नमाने प्रहरी लगाएर गाडी फिर्ता लिने बताएपछि केसीले फिर्ता गरेका हुन् । केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको वरिष्ठ शाखा अधिकृत देविराम भण्डारीले जानकारी दिए । मुख्यमन्त्री कार्यालयमा चालकमार्फत पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरेका हुन् ।

भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्वविशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले फजुल खर्च घटाउने योजना बनाएअनुसार पूर्वविशिष्ठ व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताएका थिए ।

वि.सं. २०७९ भदौ ३१ गते बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिँदै आएका थिए । पूर्वविशिष्ठ व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए ।

आर्थिक संकट निम्तिएको समयमा मितव्ययीता अपनाउनको लागि यसरी दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय वर्तमान प्रदेश सरकारले गरेको हो ।

पहिलो प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले पनि पूर्व विशिष्ठ व्यक्तिलाई दिँदै आएको सेवा सुविधा अन्तरगत सरकारी गाडी प्रयोग गर्दै आएका छन् । घर्तीले प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने बताएका छन् ।

याे पनि पढ्नुस्: पूर्वविशिष्टको गाडी प्रहरी लगाएर भए पनि फिर्ता लिने लुम्बिनीका मुख्यमन्त्रीको चेतावनी (भिडिओ)

 


प्रतिक्रिया

2 thoughts on “मुख्यमन्त्रीले पुलिस लाउने चेतावनी दिएपछि पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

  1. माओवादी हो नि त । देशको लागि लडेको । एउटा गाडी पनि किन नदिएको होला ? गाडी गार्ड दिनु । तलब दिनु । पुलिस देखाएरै गाडी तान्नु परेको ? पहिला पो जंगलको बास । अहिले त गाडी नभइ पाईलै सर्दैन । अनि सरकारी गाडी जबर्जस्ती भए पनि लिनै पर्यो । सुप्रिमोदेखि वडासम्मका सबै सुविधाभोगी । नराम्ररी बिग्रिए माओवादी पनि ।

  2. सेवासुविधा , खाने पीउने मा माओवादी होइन नि सुविधा हो ठुला क्रान्तिकारी गफमा पो माओवादी हो त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर