प्रेमिका ‘अरुसँग लागेको’ शंकापछि मध्यराति सुन्दरीजल लगेर हत्या – Nepal Press

प्रेमिका ‘अरुसँग लागेको’ शंकापछि मध्यराति सुन्दरीजल लगेर हत्या

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा भदौ २० गते बिहान मृत भेटिएकी युवतीको हत्या आरोपमा दुईजना पक्राउ परेपनि मृतकको भने अझै पहिचान खुल्न सकेको छैन ।

पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा-३ का ४० वर्षीय रामविनय महरा र सर्लाहीको बसगरिया-५ का २४ वर्षीय सन्तोषराम महरा छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती महिला ४० वर्षीय रामविनयको प्रेमिका भएको खुलेको छ ।

रामविनयले मृतकको घर सिरहा भएको र नाम राम दुलारी भएको भन्नेबाहेक अन्य केही विवरण प्राप्त भएको छैन । काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मृतकका आफन्त कोही पनि सम्पर्कमा आएका छैनन् ।

रामविनयले भदौ १९ गते राति अन्दाजी १२ बजे ती युवतीलाई सुन्दरीजल पुर्‍याएर हत्या गरेका थिए । ढुंगाले हानेर महिलाको हत्या गरेको उनले बयान दिएका छन् ।

‘सुरुमा हामीले ठेल्यौँ र त्यसपछि ढुंगा हानेर मार्‍यौं’, रामविनयले बयानमा भनेका छन् । घटनामा सन्तोषले रामविनयलाई सहयोग गरेको बुझिएको छ ।

‘राति ११ बजे तीनजना सुन्दरीजलमा रहेको सीसीटीभी फुटेजबाट देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

प्रारम्भिक सोधपुछमा रामविनयले दुई वर्षदेखि ती युवतीसँग सम्बन्ध रहेको बताएका छन् ।

‘ऊ धेरै रक्सी खान्थी र अरु केटाहरूसँग पनि हिँड्थी । मलाई धेरै दु:ख दिएकी थिई’, रामविनयले प्रहरीलाई भनेका छन् । प्रहरीले मृतक युवती वसुन्धरामा बस्ने गरेको जानकारी पाएपनि कहाँ बस्थिन् भन्ने पनि यकिन गर्न सकेको छैन ।

‘अहिले हेर्दा ज्याला मजदुरी गरेर आफ्नै पारामा हिँड्ने युवतीजस्तो देखिन्छ’, प्रहरी स्रोत भन्छ । पक्राउ परेका रामविनय र सन्तोष दुवै सडक किनारमा जुत्ता सिलाएर हिँड्ने काम गर्छन् । ९ वर्ष चाबहिल र बौद्धमा जुत्ता सिलाउने काम गरेका रामविनय पछिल्लो ४ वर्षयता वसुन्धरामा बसेर काम गर्दै आएका थिए ।

ट्याक्सी पत्ता लागेपछि आरोपीसम्म पुग्यो प्रहरी

प्रहरीका अनुसार युवतीको शव सुन्दरीजल खोलाको किनारभन्दा केहीमाथि चेपमा भेटिएको थियो । प्रहरीले प्रावधिक अनुसन्धान गर्दै जाँदा सीसीटीभी फुटेजमा राती ११ बजे तीनजना हिँडिरहेको देखिएको थियो ।

त्यसपछि प्रहरीले ती तीनजनालाई सुन्दरीजलमा ल्याउने ट्याक्सीको पहिचान गरेको थियो । ट्याक्सी चाकल भेटिएपछि प्रहरीलाई आरोपीसम्म पुग्न सजिलो भयो ।

ट्याक्सी चालकले उनीहरूलाई वसुन्धराबाट सुन्दरीजल ल्याएको बताएपछि प्रहरी आरोपीको अझ नजिक पुगेको थियो । पक्राउ परेका सन्तोष रामविनयका नातेदार भएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *