नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीनजनाको नाम सिफारिस, संगीताको सम्भावना – Nepal Press

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीनजनाको नाम सिफारिस, संगीताको सम्भावना

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्ति दिने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले सम्भवतः पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्नेछ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पालामा गठित सिफारिस समितिले सार्वजनिकरुपमा आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो ।

तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले संगीता पहाडी, अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेकोमा नयाँ मन्त्री पृथ्वीसुब्बा गुरुङले सोही प्रस्ताव मन्त्रिपरिषदमा लगेका छन् ।

पहिलेको सिफारिस फेरबदल गर्दा वा समिति नै भंग गरेर नयाँ बनाएर विवाद निम्त्याउने पक्षमा सरकार नरहेको बताइएको छ । टेलिकमका कर्मचारी युनियनहरूले दबाब दिए पनि सरकार अनावश्यक विवादमा मुछिने पक्षमा छैन ।

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक थिइन् ।

महिलालाई नै प्रबन्ध निर्देशक बनाउँदा राम्रो सन्देश जाने र उनी टेलिकमकै कर्मचारी भएका कारण पनि पहाडीको नियुक्ति हुन लागेको बताइएको छ ।

पहाडीले टेलिकमको व्यवस्थापनमा राम्रो काम गरेको र विवादमा नपरेका कारण पनि उनलाई नै प्रबन्ध निर्देशक बनाउने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *