बीपी प्रतिष्ठानसँग मजदुरहरू रुष्ट, बनाए आन्दोलन परिचालन कमिटी – Nepal Press

बीपी प्रतिष्ठानसँग मजदुरहरू रुष्ट, बनाए आन्दोलन परिचालन कमिटी

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूले आफूहरूलाई एक वर्षदेखि अलमल्याएको भन्दै सुरक्षा श्रमिक र सफाइ श्रमिकहरू रुष्ट बनेका छन् ।

वृद्धि गरेको न्यूनतम पारिश्रमिक नपाएको, हेल्थ कार्ड सुविधा कटौती गरेको, पुराना बाँकी रकम नपाएको र जेठ महिनादेखि मासिक तलब समेत रोक्का गरिएपछि मौखिक र लिखित रूपमा पटक पटक ध्यानाकर्षण गराएको भए पनि समस्याको समाधान नभएपछि श्रमिकहरू प्रतिष्ठानसँग रुष्ट बनेका हुन् ।

बिहीबार प्रतिष्ठान हाताभित्र नेपाल सफाइ कर्मचारी युनियन र नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले भेलाको आयोजना गरेर संवादबाट समस्याको समाधान नभएको भन्दै आन्दोलनबाट निकास निकाल्ने संकल्प सहित ३५ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ ।

बिहीबार बिहान नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य भीम ज्वाला राईको अगुवाइमा प्रतिष्ठानका भीसी डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा. सूर्य संग्रौला र रेक्टर डा. सञ्जीव शर्मासँग संवाद गरिएको थियो ।

रजिष्ट्रार डा. सूर्य सङ्ग्रौलासँग प्रत्यक्ष भेटेर र अन्यसँग फोन संवाद गरिएको थियो । संवादका क्रममा सबै पदाधिकारीले श्रमिकहरूको समस्या कुनै ठुलो समस्या नभएको आफू सकारात्मक रहेको जनाउँदै अरूका कारणले यो समस्या समाधान नभएको बताएका थिए ।

श्रमिकहरूले अघि सारेका कतिपय समस्याहरू कार्यान्वयन गर्न पर्याप्त कानुनी आधारहरू भएकाले निर्णय गर्न कुनै समस्या नभएको र कतिपय कुराहरू व्यवहारिक हिसाबले पनि व्यवस्थापन गर्न सकिने खालका रहेकाले कुनै समस्या नभएको प्रतिष्ठानका पदाधिकारीहरूको तर्क रहेको थियो ।

प्रतिष्ठानका पदाधिकारीहरुबीचको समन्वयको अभाव र पूर्वाग्रहपूर्ण सम्बन्धका कारण श्रमिकहरूलाई एक वर्षदेखि आलटाल गरिरहेको र पदाधिकारीको कोप भाजनमा श्रमिकहरू परेकाले आन्दोलनको विकल्प नरहेको निष्कर्ष सहित आन्दोलनको तयारी गरिएको मजदुर नेता भीम ज्वाला राईले बताए ।

प्रतिष्ठानका अन्य कर्मचारीहरू सरह सुरक्षा र सफाइ श्रमिकहरूले वर्षौँदेखि उपयोग गर्दै आइरहेको हेल्थ कार्ड सुविधा विना कारण २०८० साउन १ गतेदेखि बन्द गरिदा श्रमिकहरू र तिनका आश्रित परिवारमा गम्भीर असर परेकाले त्यसलाई निरन्तरता दिनु पर्ने माग छन् ।

यस्तै, २०८० साल साउन महिनादेखि लागु हुने गरी नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी लागु गरेको २ हजा ३ सय बढेको तलब तत्काल उपलब्ध गराउनु पर्ने, केटिएम सेक्युरिटी कम्पनीले प्रतिष्ठानमा ठेक्का सम्झौतामा काम गरेको समयमा श्रमिकहरूले पाउनुपर्ने १ करोड ५६ लाख ३४ हजार ३ सय १३ रुपैयाँ ३६ पैसा श्रमिकहरूलाई उपलब्ध गराउन श्रम अदालतले चार वर्ष अघि गरेको फैसला कार्यान्वयन गर्नु पर्ने माग पनि छ ।

त्यसैगरी श्रम ऐन २०७४ अनुसारका सेवा सुविधाहरू श्रमिकहरूले पाउनु पर्ने लगायतका माग राखेर गत जेठ १५ गते भीसी गिरी सहित सबै पदाधिकारीहरूलाई ध्यानाकर्षण पत्र बुझाइएको र त्यही समयमै समस्या समाधान हुने आश्वासन पाए पनि अहिलेसम्म मागहरूको सम्बोधन नभएपछि आन्दोलनमा जानु परेको सुरक्षा श्रमिकका घोपा सचिव प्रवीण राईले बताए ।

यो साउन महिनाको मासिक तलब आउँदा हाम्रा विषयहरू सम्बोधन भएर आउँछ कि आउँदैन हामी हेर्छौ भीसी लगायतका पदाधिकारीहरूले भन्नु भएजस्तै समस्याको समाधान भए ठिकै छ भएन भने अन्तिम अल्टिमेटम सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौँ आन्दोलन परिचालन कमिटीका संयोजक यामकला मग्रातीले बताइन् ।

आन्दोलन परिचालन कमिटी निर्माण

संयोजक

१. यामकला मग्राती
२. रत्न नेम्वाङ

सदस्य सचिव
३. प्रवीण राई

आर्थिक विभाग संयोजक

४. सीता बिक
५. प्रेम कुवार

सचिवालय

६. गणेश लिम्बु
७. जनक सुनुवार
८. धनबहादुर राई
९. हेमन्त राई
१०. मुनादेवी बस्नेत
११. यमुना काफ्ले

सदस्यहरू

१२. सुरक्षा युनियनका कमिटी १५ जना
१३. सफाइ मजदुर युनियन ११ जना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *