समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै त्रिवि प्रशासनमा विद्यार्थीहरूको धर्ना – Nepal Press

समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै त्रिवि प्रशासनमा विद्यार्थीहरूको धर्ना

काठमाडौं । समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग राख्दै त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरू त्रिभुवन विश्व विद्यालयको प्रशासन मै धर्ना बसेका छन् ।

ट्रान्सक्रिप्ट उपलब्ध गराउन ढिलाइ गरेको र नतिजा समेत असम्बन्धित विषयको प्रकाशित गरेको कारण हिजो बिहीबार देखि त्रिवि प्रशासनमा धर्नामा बसेका हुन् ।

गत मङ्सिर मै ट्रान्सक्रिप्ट लिनका लागि निवेदन दिएर पटकौं पटक धाउँदा पनि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट उपलब्ध नगराएको, ६ वटा विषयमा परीक्षा दिएको तर ११ ओटा विषयको नतिजा निकाल्ने जस्तो गैर जिम्मेवार कार्यको विरुद्धमा धर्नामा बसेको विद्यार्थीहरुले बताएका छन् ।

यस धर्ना कार्यक्रम राति १२ बजे नै अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की, सचिव उपदेश यादव, सञ्जीव चौधरी लगायतका केन्द्रीय नेताहरू धर्ना स्थलमा उपस्थित भई ऐक्यबद्धता जनाएका छन् ।

विद्यार्थीका जायज मागहरू यथाशीघ्र पूरा गर्न त्रिविका सम्पूर्ण पदाधिकारी कर्मचारी तथा सम्बन्धित निकायहरूलाई आग्रह गर्दै विद्यार्थीको आन्दोलनमा न्याय प्रेमी जनसमुदाय, विद्यार्थी सबैलाई सहयोग पुर्‍याउनको निम्ति नेता उपदेश यादवले अपिल गरेका छन् ।

प्रवीण दाहाल, ममता जोशी, अर्जुन बगाले, आशिष शाक्य, बिना श्रेष्ठ, असल गैरे, कृष्ण साउद, प्रदीप भण्डारी लगायतका विद्यार्थीहरू धर्नामा बसेका छन् ।

माग पूरा नभएसम्म धर्ना जारी रहने बताउँदै विद्यार्थीहरु राति पनि धर्नामै थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *