होन्डाको अपमानजनक टिप्पणीले उब्जेको प्रश्न- दशरथ रंगशालाको मैदान साँच्चिकै झूर हो ? – Nepal Press

होन्डाको अपमानजनक टिप्पणीले उब्जेको प्रश्न- दशरथ रंगशालाको मैदान साँच्चिकै झूर हो ?

काठमाडौं । विश्वकप खेलेका र एसिया कप जितेका जापानी विश्व चर्चित मिडफिल्डर केइसुके होन्डासहित भुटानको पारो एफसी मंगलबार साँझ दशरथ रंगशालामा उत्रँदै छ नेपालको लिग च्याम्पियन चर्च ब्वाइजविरुद्ध । पारोले होन्डालाई भित्र्याएसँगै त्यसले नेपाली फुटबलमा ‘एक्साइटमेन्ट’ बढाएको थियो ।

यी हाइप्रोफाइल खेलाडिलाई दशरथ रंगशालाको मैदानमा देखिनु र नेपाली क्लब र खेलाडीले उनको सामना गर्ने अवसर पाउनु एउटा मिठो संयोग नै हो । तर खेल सुरु हुनुअघि होन्डाले दशरथ रंगशालाको विषयमा गरेको टिप्पणीले नेपाली फुटबललाई कम्तिमा फाइदा पुर्याएको छैन ।

उनले आफ्नो करियरकै खराब खेल मैदान देखेको भन्दै दशरथ रंगशालाबारे टिप्पणी गरेका छन् । उनले यसबारे बोलेको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको छ । दशरथ रंगशालाको मैदानको अवस्था के कारणले उनको करियरकै खराब रह्यो भन्नेबारे होन्डाले केही पनि खुलाएका छैनन् ।

सोमबार आयोजित प्रिम्याच कन्फेरेन्समा पारोका प्रशिक्षक पुष्पलाल शर्माले पनि मैदानको अवस्थाबारे होन्डा सन्तुष्ट हुन नसकेको बताएका थिए । होन्डाले आफैंले बोलेको कुरालाई शर्माले प्रिम्याच कन्फेरेन्स अगाडि दोहोर्याएका थिए ।

दशरथ रंगशालामा यो खेल सजिलै सम्भव हुन लागेको होइन । एएफसीले विगतमा दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य भएको निर्णय गरेका कारण नेपालले विश्वकप छनोटका खेलहरु विदेशमा गएर खेलेको थियो । यसपटक एएफसी च्यालेन्ज लिगको छनोट खेल आयोजना गर्न एएफसीले दशरथ रंगशाला योग्य भएको निर्णय गरेको थियो । चर्च ब्वाइजले होम ग्राउन्डका रुपमा दशरथ रंगशाला प्रयोग गर्दै छ ।

अखिल नेपाल फुटबल संघ–एन्फा प्रवक्ता सुरेश शाहले मैदान सुधार गर्नुपर्ने सुझावसहित दशरथ रंगशालालाई खेल आयोजना गर्न अनुमती दिइएको बताए ।

‘तर अहिले होन्डाले जुन टिप्पणी गर्नु भएको छ, यसले नेपाली फुटबललाई फाइदा गर्दैन’, उनले भने ।

स्रोतका अनुसार पारोलाई नियमित प्रशिक्षणका लागि एन्फाले आर्मीको मैदानमा आइतबार अपरान्ह समय मिलाएको थियो । तर आर्मीको मैदान तयार नभएको देखेपछि उनी त्यहाँ प्रशिक्षण गर्न मानेनन् । त्यसपछि दशरथ रंगशालामै एन्फाले प्रशिक्षणका लागि व्यवस्था गरेको थियो ।

त्यहीक्रममा नेपालको मैदानबारे टिप्पणी गर्दै होन्डाले भिडियो बनाएको बुझिएको छ । नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरु आयोजना गर्दै आएको दशरथ रंगशाला स्कुलका सामान्य कार्यक्रम गर्न पनि भाडामा दिने विगतको प्रवृतीका कारण राष्ट्रिय खेलकुद परिषद्को चर्को आलोचना हुने गरेको छ। दशरथ रंगशालाको व्यवस्थापन राखेपले गर्छ। विगतमा पनि नेपाल आएका विदेशी प्रशिक्षकले दशरथ रंगशालाको मैदानको अवस्थालाई लिएर टिप्पणी गर्ने गरेका थिए ।

एन्फा प्रवक्ता शाहले ठुला प्रतियोगिता खेलेका खेलाडी भएका कारण होन्डाले सोही प्रकारको मैदानमा अपेक्षा गरेको हुन सक्ने बताए । ‘अहिले विदेशका रंगशाला हेर्यौँड भने त्यहाँ सामान्य अवस्थामा प्रवेश गर्न पनि शुल्क तोकिएको हुन्छ। रंगशालालाई राम्रोसँग व्यवस्थापन गरिएको हुन्छ’, उनले भने । होन्डाले सन् २०१८ देखि ५ वर्ष कम्बोडियाको सिनियर राष्ट्रिय टोली सम्हालेका थिए।

फुटबल विश्लेषक तथा एन्फामा पनि जिम्मेवारीमा रहेका सन्जिव मिश्र एएफसीबाट निरिक्षणमा आएका म्याच कमिसनर नै मंगलबारको खेलका लागि पनि आएको बताए । ‘जो म्याच कमिसनरले मैदान खेल्न योग्य छ भनेर निर्णय गरेका थिए उनै आजको खेलमा म्याच कमिसनर भएर आएका छन् । होन्डाले के देखेर यसो भनेँ थाहा भएन’, उनले भने । मैदान गिलो हुनु, एउटै लेभलको नहुनु, घाँस मिलाएर काटेको नुहुनु जस्ता अवस्थाले मैदानको खराब अवस्था बुझाउने उनले बताए ।

 


प्रतिक्रिया

One thought on “होन्डाको अपमानजनक टिप्पणीले उब्जेको प्रश्न- दशरथ रंगशालाको मैदान साँच्चिकै झूर हो ?

  1. Honda जुन देश र सेवासुविधामा आएका हुन उनले त्यो देखेनन् होलान् नेपालले पनि समयानुकूल सुधार गर्दै जानुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *