सीटीईभीटीको पुन:संरचना अध्ययन गर्न टीम गठन, कोटा निर्धारणदेखि कार्यक्रम थपसम्म गरियो यस्तो निर्णय (सूचीसहित) – Nepal Press

सीटीईभीटीको पुन:संरचना अध्ययन गर्न टीम गठन, कोटा निर्धारणदेखि कार्यक्रम थपसम्म गरियो यस्तो निर्णय (सूचीसहित)

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परिषद्को पुर्नसंरचना अध्ययन तथा सुझाव सम्बन्धमा पूर्वसचिव सूर्यप्रसाद गौतमको संयोजकत्मा ७ सदस्यीय उच्चस्तरीय कार्यटोली गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षमा केही दिनअघि बसेको परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले परिषद्बाट सञ्चालन हुने कार्यक्रकको समयसापेक्ष परिमार्जन गर्न पाठयक्रम विज्ञ डा. लेखनाथ पौडेलेको संयोजकत्वमा ५ सदस्य रहेको कार्यटोली गठन गरेको छ भने परिषद्को आंगिक शिक्षालय गणेशमान स्मृति बहुप्राविधिक शिक्षालय चन्द्रागिरी काठमाडौंमा बजारको माग अनुसार चालू शैक्षिक सत्रदेखि डिप्लोमा इन व्यूटि एण्ड कस्मेटोलोजी (कोटा ४०) र डिप्लोमा इन फेसन डिजाइन (कोटा ४०) कार्यक्रम सञ्चालन गर्न कार्यक्रम थप गर्ने निर्णय गरेको छ ।

बैठकले परिषद्को आंगिक शिक्षालयमा सञ्चालित स्वास्थ्यबाहेकका कार्यक्रममा न्यूनतम संख्यामा आवेदन परेको सम्बन्धमा कार्यक्रम समायोजन, परीक्षार्थी समायोजन र सेवा करारमा कार्यरतको समायोजन सम्बन्धमा अध्ययन गरी कार्यक्रम सञ्चालन गर्नका लागि परिषद् पोलिटेक्निक महाशाखाका निर्देशक दामोदर देवकोटाको संयोजकत्वमा कार्यटोली गठन गरेको छ ।

परिषद्ले ४२ वटा निजी क्षेत्रका संस्थालाई कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगमा कोटा निर्धारणका लागि पठाउने निर्णय गरेको छ । विभिन्न कार्यक्रममा प्रस्तावना पेश गरी चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरी अन्तिम प्रक्रिया रहेका र विभिन्नि मितिमा भएका अदालतको आदेश अनुसार १३ वटा निजी क्षेत्रका प्रस्तावक संस्थालाई कार्यक्रम सञ्चालन गर्न कोटा निर्धारणका लागि पठाउने निर्णय गरेको हो । जसमा पाथिभरा सेन्टर फर एडभान्स स्टडिज अर्जुनधारा झापादेखि मिड वेष्ट्रन कलेज अफ साइन्स एण्ड टेक्नोलोजी, सुर्खेतसम्म रहेका छन् ।

बैठकले विभिन्न कार्यक्रममा प्रस्तावना पेश गरी आयोगबाट आशयपत्र प्राप्त गरेर अन्तिम प्रक्रियामा रहेका २९ वटा निजी क्षेत्रका प्रस्तावक संस्थाको कार्यक्रम सञ्चालनका लागि पनि आयोगमा कोटा निर्धारणका लागि पठाउने निर्णय गरेको हो । जसमा मोडर्न इन्टिच्यूट अफ हेल्थ साइन्स त्रियुगा उदयपुरदेखि नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेज प्राली धनगढी कैलालीसम्म रहेका छन् ।

बैठकले विभिन्न ५ वटा संस्थाले सञ्चालन गरेका कार्यक्रममा पनि स्तरोन्ननी गर्ने निर्णय गरेको छ । जसमा चित्रगुप्त इन्ष्टिटच्यूट अफ टेक्नोलोजी बर्दिबास महोत्तरीदेखि दमक इन्ष्टिच्युट अफ टेक्नोलोजी प्राली दमक झापासम्म रहेका छन् । यस्तै बैठकले विभिन्न कार्यक्रममा प्रस्तावना पेश गरेका ७ जटा निजी क्षेत्रका प्रस्तावक संस्थाको कार्यक्रमलाई परिषद्को सम्बन्धन सिफारिस समितिको बैठकले प्रस्तावना रद्द गर्न सिफारिस गरे अनुसार रद्द गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *