स्थानीय उत्पादन र रैथाने बालीको उपभोग बढाउनुपर्नेमा सरोकारवालाको जोड
काठमाडौं । बालबालिकाको पोषणका लागि स्थानीय खानामा जोड दिनुपर्ने विभिन्न क्षेत्रका अगुवाले बताएका छन् । कोदो, फापर, जुनेलो, सागपात, फलफुल र अन्य स्थानीय जातका रैथाने बाली नै बालबालिकाको पोषणका लागि उपयोगी हुने भएकाले यसको प्रयोगमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ ।
वर्ल्ड भिजन इन्टरनेश्नल नेपालसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावले काठमाडौँमा आयोजना गरेको कार्यक्रमका सहभागी सरोकारवालाले बालबालिकाको पोषणमा प्याकेट र बोतलका तयारी खानेकुराले नकारात्मक असर गरेको भन्दै अब स्थानीय उत्पादन र रैथाने बालीको उपभोग बढाउनुपर्ने बताएका हुन् ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले बाध्यताका कारण कामकाजी आमाले स्तनपान गराउन नपाएको बताउँदै सरकारले सुत्केरीलाई दिने बिदा नै पर्याप्त नभएको बताईन । उनले कामकाजी आमाको बच्चाका लागि कार्यालयमा शिशु हेरचाह केन्द्रको स्थापना अनिवार्य गर्नुपर्ने बताइन् ।
पोषणसँग जोडिएका सबै पक्षका लागि सकरात्मक पहल गर्नुपर्ने बताउँदै रैथाने बाली उत्पादन हुने क्षेत्रमा पनि तयारी खानाको बिगबिगि बढेको पाइएको उनको भनाइ छ । यसबारे सैद्धान्तिक छलफलका साथ साथै काम नै थालिहाल्नुपर्नेमा उनको जोड थियो ।
राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले सबैको घरमा तयारी खानाको प्रयोग बढ्दै गएकोले यसतर्फ सचेत हुनुपर्ने बताए । बालबालिकालाई तयारी खानाको स्वाद चखाउने अभिभावक नै भएकाले यस्तो कदमले बालबालिकाको पोषणमा प्रत्यक्ष असर पुग्ने उनको भनाइ छ । पोषण सम्बन्धी सचेतना फैलाउन आयोगले पनि पहलकदमी लिने उनले प्रतिवद्धता जनाए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. प्रकाश बुढाथोकीले ६ महिनासम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ५६ प्रतिशतमा झरेको जानकारी गराउँदै यो बालबालिकाको स्वास्थ्यका लागि उचित नभएको बताए ।
नेपाल जनसाङ्खिक सर्वेक्षणले हाल ६ देखि ५९ महिनाका बालबालिकामा २५ प्रतिशतलाई पुड्कोपना, ८ प्रतिशतमा ख्याउटेपना, १९ प्रतिशतमा कम तौल, ४३ प्रतिशतमा रक्तअल्पता देखाएको बताउँदै उनले यसलाई कम गर्न तीन तहकै सरकार अग्रसर हुनुपर्ने बताए ।
वल्र्ड भिजनका निर्देशक उमा थापामगरले हरेक नागरिकका लागि प्रत्यक्ष जोडिएको पोषणको विषयमा अझै पनि पर्याप्त बहश हुन नसकेको भन्दै भर्खरै घोषणा गरिएको ‘इनफ’ अभियानले पोषणका बारेमा पैरबी र चेतना बढाइरहेको बताईन । कुपोषण दर घटाउन गरिबी पनि मुख्य चुनौति रहेको बताउदै स्थानीय खानाको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिइन ।
अनुसन्धानकर्ता दिपेश घिमिरेले पोषण सम्बन्धी नीतिको समीक्षा प्रस्तुत गर्दै नेपालमा तयारी खानाको असर सहरमा भन्दा बढी गाउँमा देखिएको जानकारी दिए ।
पछिल्लो समय हरेक पालिकालाई पोषणमैत्री बनाउने सकरात्मक अभ्यासको थालनी भएको भन्दै बालबालिकाको पोषणलाई सुनिश्चित गर्ने गरि नेपालको संविधानको मौलिक हक अन्तर्गत स्वास्थ्य, शिक्षाको हक, वातावरणको हक, बालबालिकाको हक पोषणलाई सहयोग गर्ने हक भएको बताए ।
देशका कतिपय स्थानीय तहले पोषणलाई सहयोग गर्ने किसिमको सुत्केरी भेटघाट, उपमेयर भेटघाटलगायतका पोषणयुक्त खाना पु¥याउने कार्यक्रम सञ्चालन गरिरहेको बताए । फापर, कोदो, जुनेलोलगायतका रैथाने बाली बिक्री गरेर तयारी खाना खरिद गरि खाने चलनलाई रोक्नुपर्ने उनको सुझाव छ ।
राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बम बानियाँले बाल अधिकारको क्षेत्रमा पोषण विशेष अवस्था भएको बताउँदै यसको सचेतनाका लागि धार्मिक गुरुसँगको सहकार्य बढाउनु सकरात्मक भएको बताए । सञ्चारमाध्यमले पनि समस्या देखाउने मात्र नभइ समाधानका उपाय पनि खोजी गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावका अध्यक्ष अर्जुन गिरीले देशका सम्पूर्ण बालबालिकाको पोषणमा ध्यान दिन सञ्चार माध्यमसँगै धार्मिक गुरु, सामुदायिक वन, विभिन्न समूह, क्लवलगायत परिचालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न धर्मका धर्म गुरुले पोषणका बारेमा रहेका विभिन्न गलत अभ्यास र मान्यता हटाउँदै जानुपर्ने र यसका लागि सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए ।