म्यासेन्जरबाट कुरा गरेर भेट्न जाँदा कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार
कैलाली । सामाजिक सञ्जाल म्यासेन्जरमा कुरा गरेर भेट्न जाँदा कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरी साउन ९ गते मध्य राति बलात्कारको शिकार भएकी हुन् ।
केही महिनादेखि एक व्यक्तिसँग उनको सामाजिक सञ्जालमार्फत चिनाजान भएको थियो । एक पटक पनि भेट नभएको व्यक्तिलाई भेट्न गएको र त्यही क्रममा उनलाई दुई जना किशोरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार ९ साउनको राति किशोरीलाई घर बाहिर भेट्न बोलाएका थिए । उनलाई एक युवकले मोटरसाइकलमा राखेर राति साढे १ बजेको समयमा गोदावरीकै मालाखेती जङ्गलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
फेसबुकमा कुरा गर्ने युवकले बलात्कार गरेर त्यसपछि अर्का एक युवकले पनि ती किशोरीलाई बलात्कार गरेका थिए । अन्य केही युवा पनि नजिकै रहेका थिए ।
उनीहरुले सामूहिक बलात्कार गरेपछि राति करिब ३ बजे किशोरीलाई घरमा पुर्याएका थिए । ९ गतेको घटना भएपनि प्रहरीमा ११ गतेमात्रै उजुरी परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले एक युवकलाई पक्राउ गरेको र अन्य एक जनाको खोजी गरिरहेको जनाएको छ ।