नारीलाई ‘पतिव्रता’ बन्न देवी प्रतिभाका टिप्सः पतिका ‘चरण सेवा’ अनिवार्य ! (भिडिओ)
काठमाडौं । देवी प्रतिभा उर्फ प्रतिभा पराजुली पशुपतिमा आयोजित कोटीहोममा आफ्नो कथावाचन सकेर १० दिनअघि भारत फर्किइन् । तर नेपालमा उनको चर्चा अझै सेलाएको छैन ।
सामाजिक सञ्जालमा प्रतिभाका पक्ष र विपक्षमा अहिले पनि विभिन्न तर्क–वितर्कहरु भइरहेका छन् । उनले नेपालमा आफ्नोबारे के–के झूट बोलेर गइन् भन्ने फेहरिस्त नेपाल प्रेसले प्रस्तुत गरेपछि ठूलै तरंग उब्जिएको थियो । साथै, उनले आफ्नो प्रवचनका क्रममा दिएको एउटा अभिव्यक्ति पनि विवादित बन्यो ।
देवी प्रतिभाले अमूक शास्त्रको हवाला दिँदै ‘डिभोर्स’ का विषयमा आफ्नो ‘पुरुषवादी चिन्तन’ उजागर गरेकी थिइन् । जतिसुकै अत्याचार सहनु परे पनि श्रीमतीले श्रीमानसँग डिभोर्स गर्नु नहुने उनको दृष्टिकोणलार्ई सामाजिक सञ्जालमा धेरैले आलोचना गरे । यद्यपि, केहीले प्रतिरक्षा पनि गरेका छन् ।
देवी प्रतिभाका लागि भने यो अभिव्यक्ति कुनै नौलो होइन । भारतमा कथावाचन गर्ने क्रममा उनले बारम्बार यस्ता दृष्टिकोण राख्ने गरेकी छन् । उनका प्रायः प्रवचनमा महिलाभन्दा पुरुष श्रेष्ठ हुन् भन्ने भाव प्रकट भएको हुन्छ । यदाकदा ‘नारी शक्ति’ को चर्चा पनि गर्छिन् । दुवैले भन्ने गर्छन्- पत्नीव्रता नारीले यसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ ।
प्रतिभाले आफ्नो प्रवचनमा हरेक विवाहित नारीले सिउँदोमा सिन्दुर लगाउनैपर्ने बताएकी छन् । जबकि उनी आफैंले कहिल्यै सिउँदो लगाएको देखिन्न । हुन त उनले आफ्नो वैवाहिक स्थितिलाई नै गोप्य राख्दै आएकी थिइन् ।
देवी प्रतिभाको महिला विषयमा चासो राख्नेहरुका लागि हामीले नारीसँग सम्वन्धित उनका केही अभिव्यक्तिहरु संकलन गरेका छौं । यी अभिव्यक्तिहरु हामीले पछिल्ला केही दिनमा उनले आफ्नो युट्यूवमा राखेका पोस्टहरुबाट लिएका हौं । उनका विचारहरु कति सही हुन् वा कति गलत छुट्याउने जिम्मा पाठकको ।
यस्ता नारीले सत्गति पाउँँदिनन्
– मदिरा पिउने नारी, परपुरुषप्रति ध्यान दिने नारीले मृत्युपछि सत्गति पाउन सक्दिननन् ।
– गर्भपात गर्ने नारीले सँधै पापको भारी बोक्नुपर्छ । जति प्रायश्चित गरे पनि यसको दोषबाट मुक्ति मिल्दैन । मृत्यूपछि उनीहरुलाई सत्गति प्राप्त हुँदैन ।
– आत्महत्या गर्ने नारी मर्दा सुतक लाग्दैन । उनीहरु आफ्नो मर्जीले मरेका हुन् । आत्महत्या सबैभन्दा ठूलो पाप हो । यस्ता स्त्रीको शवको स्पर्श नै नगर्दा राम्रो हुन्छ । उनीहरुको दाहसंस्कार पनि गर्नु हुँदैन । आत्महत्या गरेका स्त्रीको श्राद्ध–तर्पण गर्दा पनि पाप लाग्छ । गरिहालेमा चन्द्रायण प्रायश्चित गर्नुपर्छ ।
नारीले के-के गर्नु हुँदैन ?
– अचेल एउटै थालमा भोजन गर्छन् श्रीमान र श्रीमती । सोधियो भने भन्छन् कि प्रेम बढ्छ । तर, यस्तो कदापी गर्नु हुँदैन । पहिले पहिले श्रीमानले खाइसकेपछि त्यो थालमा श्रीमतीले खाने गर्थे । यस्तो गर्दा सबै तिर्थको पुण्य पत्नीलाई प्राप्त हुन्थ्यो ।
तर, आजकाल पतिको थालमा होइन, एउटै थालमा खान्छन् । पतिको साथमा सँगै खाँदा त्यो भोजन मदिरापान समान मानिन्छ । पतिले खाएको थालमा पत्नीले खाँदा तिर्थको प्रसादसमान हुन्छ । कति अन्तर छ । तपाईंले यदि गल्ति गर्दै हुनुहुन्छ भने आजैबाट छोड्नोस ।
– भोजन गर्दा पाउ हल्लाउनु हुँदैन । हामी कुर्सीमा बसेर भोजन गर्छौं । भोजन गर्दा नारीले खुट्टा कहिले पनि नहल्लाउनु । साथै नारीले कहिले पनि खुट्टाले झाडुलाई छुन हुँदैन ।
– भान्साको चुल्होमा जुठो भाँडा राख्यो भने पनि बर्बादीको कारण बन्न सक्छ । चुल्होबाट जुठो भाँडा तुरुन्तै हटाउनुपर्छ । नत्र भने विस्तारै विस्तारै घर बर्बाद हुन्छ । घरमा तरक्की उन्नति चाहनुहुन्छ भने भुलेर पनि चुल्होमा जुठो भाँडा नराख्नुस ।
– ढिलो सुत्ने र ढिलो उठ्ने नारीले पनि घरलाई बर्बादीतर्फ लैजान्छिन् । बिहान १०–११ बजेसम्म नउठ्ने र पुजापाठ नगरेको खण्डमा त्यो बर्बादीको संकेत हो । ननुहाइकन भोजन गर्ने नारीको तरक्की हुँदैन । बिहानै उठेर घरको सफाइ नगरी आलस्य रहने अनि भोजन मात्र बनाएर आफ्नो पेट भर्ने र बच्चालाई खुवाउने नारीले घर विस्तारै बर्बाद बनाउँछिन् ।
– नारीले खुट्टामा पाउजू, मंगलसुत्र र सुहागका निशानीहरु उतारेर बस्छिन् भने त्यो अशुभ मानिन्छ । यस्तो भुल गर्नु हुँदैन ।
– जो नारी भोजन बनाउने बेलामा अलिकति निकालेर टेस्ट गर्छिन् भने त्यो घर बर्बाद हुन्छ । दाल–तरकारी भाँडोबाट निकालेर हातमा राखेर थोरै टेस्ट गर्ने कसैको बानी हुन्छ । कहिलेकाहीँ नून चाख्नलाई गरिन्छ । त्यो नगर्नुस । पहिले नै स्वाद लिन्छौं भने भगवानलाई त्यो कसरी भोग लगाउने ? तपाईंले त्यो जुठो बनाइसक्नुभयो । नून पछि थप्न सकिन्छ । थोरै नून राख्नुस र पछि थप्नुस । बनाउँदै गर्दा भुलेर पनि चाख्न हुँदैन । यस्तो स्वभावको स्त्रीले घरलाई बर्बाद गर्नेछिन् ।
– केही पत्नीहरु पहिले पति उठेर चिया पकावस भन्ने सोच्छन् । यो गलत हो । पत्नीभन्दा पहिले उठेर काम गर्ने पुरुषलाई ‘नारीको गुलाम’ भन्ने गरिन्छ । त्यसैले पतिभन्दा पहिले पत्नी उठ्नुपर्छ । पति पहिले उठेर चिया बनाउनु भनेको नारीको दुर्भाग्य हो । तपाईं आफूलाई भाग्यमानी सोच्नुहुन्छ, तर तपाईं अभाग हो । भगवान भन्नुहुन्छ– पतिको सेवा नै विवाहित नारीको परम धर्म हो । नारीको सबैभन्दा ठूलो पतिव्रता धर्म नै यही हो ।
पतिव्रता कसरी बन्ने ?
– जुन स्त्रीले पतिभन्दा अलावा कुनै पनि परपुरुषको बारेमा सपना पनि स्वच्दिनन् भने उनी प्रतिव्रता हुन् । यस्तो स्त्रीसामू साक्षात ईश्वर पनि झुक्नेछन् ।
– जो नारी पतिलाई भोजन गराएर मात्रै खान्छिन् भने उनी पतिव्रता हुन्छिन् । पहिल्यै आफू खाएर बस्ने नारी पतिव्रता होइनन् । हाम्रो पति त कामबाट ढिला आउँछन्, बिहानबाट कसरी भोकै बस्ने भनेर कतिपयले भन्नुहुन्छ । यदि टाइमिङ मिल्दैन भने पतिको आदेश लिएर खान सकिन्छ ।
– जो नारी पतिभन्दा अगाडि उठेर स्नान गरेर पतिलाई उठाउन जान्छिन्, उनी पतिव्रता हुन् ।
– जो नारी पतिको चरण दवाउँछिन्, चरणसेवा गर्छिन् उनी पतिव्रता हुन् । पतिको आदेशलाई परमेश्वरको आदेश मान्ने नारी परम पतिव्रता हुन्छन् । कतिपले भन्नुहुन्छ, पुरुषले चाहीँ किन दवाउनु हुँदैन भनेर । हो, पुरुषले दवाउनु हुँदैन । कुन ग्रन्थमा देख्नुभएको यस्तो ? पुरुषले नारीको खुट्टा दवाउनुपर्छ भनेको कहाँ लेखेको छ ? नारीले पतिको चरण दवाएर उ सानी हुन्नन् । यो पतिव्रता नारीको लक्षण हो । यस्ता नारीहरुले धर्ति पनि पवित्र हुन्छ ।
– ५. जुन नारीले पतिको आदेशलाई परमेश्वरको आदेश सम्झेर पालन गर्छिन् यस्तो नारी परम प्रतिव्रता कहलाउँछिन् । यस्तो स्वभावका नारीको दर्शन मात्रले पनि समस्त पापबाट मुक्ति मिल्छ ।
– हरेक विवाहित महिलाले सिन्दुर लगाउनुपर्छ । सदैव आफ्नो वा पतिको पैसाले किनेर सिन्दुर लगाउनुपर्छ । अर्को महिलाको सिन्दुर लगाउनु हुँदैन । सिन्दुर लगाउँदा पतिको लामो उमेरको कामना गर्नुपर्छ । यस्ता महिला पतिव्रता मानिन्छन् ।