उद्योगले प्रयोग गरेको बिजुलीको ५० हजार पेजको विवरण लेखा समितिलाई बुझाउँदै प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टाइम्स अफ डे (टिओडी) डेटा समेटिएको विवरण लेखा समितिलाई बुझाउने भएको छ । उद्योगले प्रयोग गरेको विद्युत् बक्यौता उठाउने क्रममा उद्योगीले प्राधिकरणले आफू खुसी बिल काटेर पठाएको भन्दै विरोध गरिरहेको बेला टिआडी मिटरको बिल लेखा समितिलाई बुझाउन लागेको हो ।
टिओडी मिटरमा कुन समयमा कुन उद्योगले कति विद्युत् खपत गरेको छ भन्ने डेटा रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले करिब ५० हजार पेजको टिओडी मिटरको डेटा लेखा समितिमा बुझाउन लागिएको नेपाल प्रेससँग बताए ।
उनले भने, ‘आज डेटिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेको उद्योगहरुको टिओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण लेखा समितिमा बुझाउन लागिएको हो । यो डेटा सान करिब २ वटा गाडीमा लगेर बुझाउने तयारी रहेको छ ।’
केही दिन लेखा समितिमा उद्योगी, प्राधिकरण र समितिका बिच विद्युत् बक्यौताको विषयमा छलफल भएको थियो । सो छलफलमा समितिले प्राधिकरणलाई टिओडी मिटर पेस गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार प्राधिकरणले आज टिओडी मिटर बुझाउन लागेको हो ।
लामो समयदेखि उद्योग प्रयोग गरेको विद्युत्को बक्यौता उठाउने विषयमा विवाद हुँदै आएको छ । उद्योगीले प्रयोग नै नगरेको विद्युत्को बिल पठाएको भनेर प्राधिकरणको विरोध गरिरहेका छन् । भने, प्राधिकरणले प्रयोग गरेको विद्युत्को बक्यौता उठाएरै छाड्ने बताइरहेको छ ।