सचिव बिदामा गएको भन्दै अजिरकोटको वडा ४ ले बन्द गर्यो सेवा


काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङले कर्मचारी नभएको भन्दै सेवा बन्द गरेको छ । वडा अध्यक्ष जंगबहादुर गुरुङले बिहीबार एक सूचना जारी गर्दै कार्यालयबाट अनिश्चितकालीन सेवा बन्दको जानकारी गराएका छन् । वडा सचिवले बिदा स्वीकृत नै नगरी हिँडेपछि कार्यालयको सेवा ठप्प भएको उनको जिकिर छ ।
गुरुङले आफूसँग बिदा माग्नुअघि नै सचिव रिता अधिकारीले गाउँपालिकामा निवेदन दिएको बताए । आफूले वडा सचिवलाई कर्मचारीको व्यवस्थापन नभएसम्मका लागि बिदा नबसिदिन भनेको भन्दै उनले निमित्त प्रशासकीय अधिकृत अमरराज पंगेनीलाई पनि सेवा बन्द हुने जानकारी गराएको बताए ।
गाउँपालिकाका अध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसँग सल्लाह गरेर नै सेवा बन्द गरिएको उनले सुनाए । प्रशासनतर्फको सेवा दिने वडासचिव एक्लै भएर पनि काममा बाधा परेको उनले सुनाए ।
‘मेरो वडामा करिब ७ सय सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राही हुनुहुन्छ । नवीकरण गर्ने बेला भएको छ । आएर दु:ख नपाउन् भनेर सूचना जारी गरिएको हो’, अध्यक्ष गुरुङले भने ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत पंगेनीले भने वडामा कर्मचारी पठाइसकिएको र नेपाल प्रेससँग बताए ।
‘पशु सेवा प्राविधिक वडामै हुनुहुन्छ । कार्यालय सहयोगी पनि वडामै हुनुहुन्छ । हिजोसम्म सचिव वडामा हुनुहुन्थ्यो । वडा सचिवले काम गर्न केही असहज भयो भनेर वडा अध्यक्षलाई पालिकामा जाँदैछु भनेर यहाँ आउनुभएको रहेछ । अब एकजना स्थायी कर्मचारी अर्को पठाउनुपर्ने हुन्छ’, उनले भने ।
कर्मचारीको बिदा प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत गर्ने भए पनि वडाको नेतृत्वसँग समन्वयमात्रै हुने उनले सुनाए ।