राष्ट्रिय सुरक्षा सल्लाहकारसम्बन्धी निर्देशिका खारेज, बैरागी स्वतः पदमुक्त
श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डे तोकिए


काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालिन सरकारले तत्कालीन मुख्यसचिव शंकरदा बैरागीलाई मुख्यसचिवबाट राजिनामा गर्न लगाएर नियुक्त गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार पद समेत खारेज हुनेगरी उक्त निर्देशिका खारेज गरेको हो । यो सँगै तत्कालिन मुख्यसचिव शंकरदास बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट स्वत मुक्त भएका छन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले तत्कालिन मुख्यसचिव बैरागीलाई राज्यमन्त्री सरहको राष्ट्रिय सुरक्षा सल्लाहकार पद सृजना गरेर अहिले निलम्बनमा रहेका मुख्यसचिव डा.बैकुण्ठ अर्याललाई सचिव पदबाट अवकाश जानु केहीदिन अघि मात्रै मुख्यसचिव नियुक्त गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा अर्याललाई भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा रहेका छन् ।
मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका १ जना सहायक रथीलाई उपरथी, ४ जना महासेनानीलाई सहायक रथी, १ जना प्रमुख सेनानीलाई महासेनानी र १ जना कार्यबाहक महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार नगर विकास कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति नभएसम्म बढीमा ३ महिनाका लागि काम गर्ने गरी कोषका बरिष्ठ कर्मचारी (प्राविधिक) राजेशकुमार भोछिभोयालाई तोक्ने निर्णय गरेको छ ।
यस्तै बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने र राजस्व न्यायाधिकरण, नेपालगञ्जको कानून सदस्य एवम अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजालासका न्यायाधीश श्यामजी प्रधानलाई तोक्ने निर्णय गरेको छ । बैठकले नगर विकास कोष सञ्चालक समिति सदस्य पदमा ७ वटै प्रदेशबाट ७ जनालाई मनोनित गरेको छ ।
जसमा कोशी प्रदेशबाट रंगेली नगरापालिकाका प्रमुख दिलिपकुमार अग्रवाल, मधेश प्रदेशबाट बरहथवा नगरपालिकाका प्रमुख कल्पना कटुवाल, बागमती प्रदेशबाट गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, गण्डकी प्रदेशबाट पोखरा महानगरपालिकाका उपप्रमुख मञ्ज गुरुङ, लुम्बिनी प्रदेशबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, कर्णाली प्रदेशबाट पञ्चपुरी नगरपालिकाका प्रमुख लालबीर भण्डारी र सुदूरपश्चिम प्रदेशबाट लम्कीचुहाँ नगरपालिकाका प्रमुख सुशिला शाहीलाइ मनोनित गरेको छ ।