हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए/नभएको छानबिन गरी सुधार गर्न संसदीय समितिको निर्देशन (भिडिओ) – Nepal Press

हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए/नभएको छानबिन गरी सुधार गर्न संसदीय समितिको निर्देशन (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए नभएको छानविन गरि नितिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छलफल गर्दै पछिल्लो समय निरन्तर हवाई दुर्घटना भइरहेको अवस्थामा राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको १५ दिनभित्र छानविन गरि आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको हो । हवाई सुरक्षा मापदण्ड कार्यान्वयनमा क्रममा कोहि दोषि देखिए कारवाहीको सिफारिसमा विज्ञहरको संलग्नतामा एक स्वतन्त्र छानविन समिति गठन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।
बैठकले यसअघि भएका हवाई दुर्घटनापछि गठन भएका जाँचबुझ आयोगका प्रतिवेदनको अवस्थाको विवरण पेश गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमान गर्न सरकारलाई निर्देशन दिएको सभापति यादवले बताए ।

बैठकले नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक छिटो सदनमा पेश गर्न पनि निर्देशन दिएको सभापति यादवले जानकारी दिए ।

बैठकमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताउनुभयो । हवाई सुरक्षा मापदण्डमा तलमाथि गर्नेलाई आवश्यक अध्ययन गरि कारवाही गर्ने उनले बताए । त्यस्तै उनले उडान सुरक्षा सम्बन्धी ऐन निर्माणका साथै विधेयकहरुलाई पनि छिटै अघि बढाउने जिकिर गरे ।

मन्त्री पाण्डेले समग्र उड्डयन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माणको तयारी गरिरहेको जानकारी दिनुभयो । हवाई सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर