जब बालेनले महिला भलिबल खेलाडीहरूलाई तलब सोधे र आफ्नो व्यथा सुनाए – Nepal Press

जब बालेनले महिला भलिबल खेलाडीहरूलाई तलब सोधे र आफ्नो व्यथा सुनाए

मेरो ४०/४१ हजार तलब छ, कहिलेकाहीँ फ्रस्टेसन हुन्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भलिबल टीमका खेलाडीहरूसँग भेटेर उनीहरूको सेवा–सुविधाबारे चासो राखेका छन् ।

हिजो नेपाल र भारतबीचको फाइनल म्याच पूर्व बालेनले खेलाडीहरूसँग संयुक्त भेटेका थिए । स्रोतका अनुसार भारतसँग खेल्नुअघि महिला खेलाडीहरूले ‘उत्प्रेरणा’ का लागि बालेनसँग भेट्न चाहेका थिए ।

बालेनले पनि सहजै उनीहरूको चाहना पुरा गरिदिए । काठमाडौंको एभरेस्ट होटलमा बिहान सो भेटघाट आयोजना गरिएको थियो ।

भेटमा बालेनसँग महानगरका कर्मचारीहरू पनि थिए । बालेनले खेलाडीहरूलाई उनीहरूले पाउने तलबको विषयमा सोधे । टीमकी कप्तान अरुणा शाहीले राष्ट्रिय खेलाडीहरूले प्रतिमहिना ५ हजार र वार्षिक ६० हजार रुपैयाँ पाउने गरेको जानकारी दिइन् । यसबाहेक सबै खेलाडीहरूले विभागीय टीमबाट पाउने तलब पनि सुनाए ।

राष्ट्रिय टीमका खेलाडीहरू नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीबाट खेल्ने गर्छन् । सरस्वती चौधरीले विभागीय टीमबाट ३० देखि ३५ हजार मासिक पाउने गरेको बताइन् । अरू खेलाडीहरूले पनि यस्तै रेञ्जमा पाउने गरेको जानकारी गराए ।

त्यसपछि बालेनले आफ्नो पनि धेरै तलब नभएको भन्दै खेलाडीलाई सान्त्वना दिन खोजेका थिए ।

उनले भने, ‘सरकारी स्केलको तलब खानुहुन्छ, सरकारीकै रासन खानुहुन्छ । कहिलेकाहीँ म आफैँ पनि सोच्छु, मेरो पनि तलब ४०/४१ हजार हो । मलाई पनि घरीघरी फ्रस्टेसन हुन्छ । यो उमेरमा यति कमाइ छ, घर कहिले बनाउने हो । इन्जिनियर मान्छे । यो पैसा कमाउने उमेर हो नि त । यो उमेरमा ४० हजार तलबमा यस्तो काम गरेर घर कसरी बनाउने, भोली छोरीलाई पढाउनु पर्छ, खर्च कसरी जुटाउने ? यस्तो बेला तपाईँहरूबाट हामी इन्स्पायर हुने हो क्या । तपाईँहरू पनि सरकारी तलबमा देशका लागि खेलिरहनु भएको छ । तपाईँहरूको पनि पैसा कमाउने उमेर हो । त्यही भएर तपाईंहरुलाई हेरेर हामीजस्तो मान्छे इन्सपायर हुन्छौँ ।’

स्रोतका अनुसार उक्त भेटघाटमा खेलाडीहरूले बालेनलाई भारतविरुद्धको फाइनल म्याचमा उपस्थित भएर टिमको हौसला बढाउन आग्रह गरेका थिए । सोही आग्रहलाई स्वीकार्दै बालेन खेलमा उपस्थित भएका हुन् । आजै काठमाडौं महानगरपालिकाले काभा महिला भलिबलमा उपविजेता बनेको टिमका सदस्यलाई १–१ लाख नगद पुरस्कारले सम्मान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर