सम्पदा संरक्षणमा सम्झौता हुँदैन : प्रमुख महर्जन (भिडिओ)
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
बिहीबार ललितपुरमा तस्बिरमा नगर प्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको जिकिर गरे ।
उनले सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने बताए । उनले सम्पदा संरक्षणमा कुनै कमजोरी नगरी महानगरले काम गरिरहेको जिकिर गरे ।
उनले ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरूलाई सम्मान गरेर आफूहरू संरक्षणमा जुटेको पनि बताए ।
उनले सम्पदाको क्षेत्रमा महानगरले कायापलट हुने गरी काम गरेको दाबी गरे । रातो मत्स्येन्द्रनाथको प्रचारप्रसारका लागि महानगरले यस वर्ष उल्लेख्य काम गरेको पनि बताए ।
मेयर महर्जनले महानगरभित्र अवैधानिक रूपमा गर्ने क्रियाकलापहरूलाई बन्द गर्न महानगर प्रहरीले सशक्त भएर काम गर्ने विश्वास लिएको बताए ।