दुःख त अँध्यारो रहेछ – Nepal Press

दुःख त अँध्यारो रहेछ

दुःख त अँध्यारो रहेछ

छायाले पनि छाड्ने रहेछ ।

यतिबेला राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिमा बंगलादेश चर्चामा आएको छ । बंगलादेशको शेख हसिना चर्चामा छिन् । र, चर्चामा छ बंगलादेशको विद्यार्थी आन्दोलन अनि मोहम्मद युनिस ।

हसिनालाई माया गर्ने भन्दा उडाउने धेरै छन् । ठीक्क पर्‍यो भन्नेहरू छन् । ‘हसिना भाग गई’ ट्रोल बनिरहेको छ । सत्ता, शक्ति र सम्पत्ति हुनेको विरोध नहुनेले गर्ने नै हो । संसार नै यही हो । नहुने धेरै हुन्छन् । हुने धेरै कम । हुनेमा अहंकार चढछ । नहुनेमा पनि चढ्छ । नहुनेको अहंकार हुनेको दिन सकिएपछि सुरू हुन्छ ।

जतिसुकै शक्तिशाली होस् दुःखमा एक्लै परिन्छ । सुनिरहेको वाक्य हो । शेख हसिनाको स्थिति देखेर दिमागमा नयाँ तरंग हानिरहेको छ । यत्ति एक्लो एकै दिनमा कोही हुन्छ होला र ! झैँ लागिरहेको छ । पत्याउनै नसकिने तर पत्याउनै पर्ने भइरहेको छ । आन्दोलनको बारेमा धेरैले धेरै लेखिसके । शेख हसिना खराब/असल त्यो पनि धेरै चर्चा भइसक्यो । यी दुई दिन र यो हप्ता र अब आउने हप्ताहरूमा पनि बंगलादेश छाइरहनेछ । शेख हसिना र बंगलादेशी आन्दोलन आइरहनेछन् ।

मेरो दृष्टिमा दुई बिम्ब बनिरहेको छ । एक प्रोफेसर महम्मद युनिस र अर्को शेख हसिना । दुवै बंगलादेशी प्रधानमन्त्री (प्रम) । एक जाने प्रम र अर्को आउने प्रम । शपथ हुने भनिएका प्रम मोहम्मद युनिस । सोमबार देश छाडेकी प्रम शेख हसिना । धेरै व्याख्या भइसकेको छ युनिसको । धेरै व्याख्या भइसकेको छ शेख हसिनाको । यहाँ यो यस्तो र त्यो त्यस्तो भन्ने व्याख्या होइन मात्र दुई दुनियाँमा फरक विम्ब बने भन्न खोजेको मात्रै हो ।

अहंकारको घोडा चढेर हिनहिनाउँदै हिँडेको शासकले जनतालाई एक मुठी देख्छ र जे पायो त्यही बोल्छ । उनले विद्यार्थीहरूलाई पाकिस्तानी समर्थक वा राष्ट्रद्रोहीजस्तो शब्द बोलिन् । जसले विद्यार्थीहरूको मर्ममै प्रहार भयो । आन्दोलनमा घिउ थप्यो ।

बिहीबार शपथपछि युनिसले नयाँ मन्त्रिमण्डल गठन गर्दैछन् । हसिनाको मन्त्रीहरूको बेहाल छ । शेख हसिनाले नै मुद्दा लगाएर लखेटेको युनिस युरोपियन राष्ट्रबाट बुधबार ढाकामा ओर्लिए । उनको जयजयकार भयो । हसिनाको हाहाकार भयो । हिंसा भड्कन नदिन युनिसले लेखेको फेसबुक स्टाटस गतिलो थियो । उनले भनेका छन्- ‘हिंसा हाम्रो शत्रु हो, कृपया थप शत्रुहरू सिर्जना नगर्नुस्, शान्त हुनुहोस् र देश निर्माणको लागि तयार हुनुहोस् ।’

उनले सबै विद्यार्थी, राजनीतिक दलका सदस्य, गैरराजनीतिक व्यक्तिहरूलाई सुन्दर देश बनाउन रोमाञ्चक सम्भावनाहरू रहेको भावी पुस्ताका लागि सुन्दर देश बनाउन जुटौं भन्दै राजनैतिक सन्देश दिएका छन् ।

राजनीति गर्नेको राजनीतिक सन्देश नसुनिने र राजनीति नगर्ने गैरराजनैतिक व्यक्तित्वको राजनीतक सन्देश चर्को सुनिने समयमा बंगलादेश आएको छ । यो विम्ब मलाई पनि मन परेको छ । राजनीति गर्नेले बिगारेपछि नगर्ने असल मान्छेको खोजि भइरहने रहेछ भन्ने लागेको छ ।

अर्को रमाइलो मलाई लागेको छ । प्रेरणा पनि जागेको छ । एक व्यक्ति राम्रो चित्त र चरित्र भए चौरासीकै उमेरमा पनि चान्सहरू पाउने रहेछ । प्रधानमन्त्री बन्ने चान्स टोल, घर, देश हैन परदेशकै दैलोमा समेत पुग्दो रहेछ । यसको उदाहरण मोहम्मद युनिस हुन् । सकरात्मक उदाहरण र मान्छे बन्ने उदाहरण यो मन परेको छ ।

०००

शेख हसिनालाई पढिरहँदा मलाई लाग्यो । दुःख त अँध्यारोजस्तै रहेछ । आफ्नोले मात्र हैन, छायाले पनि छाड्दो रहेछ ।

शेख हसिनाको तीन वटा एक सय करोड बराबरको बंगला थियो । जसको आज घर छैन ।

शेख हसिना १५ वर्ष प्रधानमन्त्री भएकी मान्छे हुन्, आज त्यही देशमा टुसुक्क अडिने ठाउँ भएन भाग्नै पर्‍यो । शेख हसिनाको आज घरघरमा फोटो टाँस्नेहरूले फोटो फाल्दैछन् । फेसबुक र इन्स्टाका पोष्ट कतिपयले उडाइसके । डिलिट गरिसके । यतिमात्रै हैन, हिजो उनको घरमा भित्र छिरेर उनले लगाउने भित्री वस्त्र झण्डा फहराए झैँ युवाहरूले फहराए । त्यसले त लाज पनि लजाएको छ ।

शेख हसिना प्रम हुँदा ७० देशको भ्रमण गरिन् । बेलायती महारानीले स्टेट डिनर दिएको फोटो अहिले पनि हेर्न पाइन्छ । सन् २०१८ मा एलिजाबेथले हात मिलाउँदै हाँसेको र हँसाएको देशले आज भिसा नदिने भएको छ । अमेरिका क्यानडा पनि मुन्टो बटारिरहेका छन् । भारतमा गएर बसेकी उनलाई भारतले के गर्ने भनेर बोलिरहेको छैन । यत्रो देश घुमेकी उनी, १५ वर्ष प्रम भएकी उनी, बंगबन्धु भनेर मानिने बंगालादेशको निर्माताका छोरी उनी आज बाबुको शालिक ढालेको टुलुटुलु हेर्न परेकोमात्रै छैन । शरणार्थी बन्ने ठाउँ समेत पाएकी छैनन् । धेरै देशले पर्ख र हेर गरेको उनी नै पर्खेर हेरिरहेकी छन् ।

सत्ता, शक्ति र सम्पत्ति पनि छायाजस्तै रहेछ । अँध्यारो अर्थात दुःख परेपछि छाड्दो रहेछ । एक्लै परेपछि हिजोसम्म हजुर भन्नेहरू के कराको भन्न थाल्ने रहेछन् । हिजोसम्म सुनिस्योस् न भन्नेहरू आज सुनिन भन्न थाल्ने रहेछन् । एक दिन अघिसम्म सेनाले केही हुँदैन हामी थाम्छौं भनेर ढाडस दिएका थिए हसिनालाई । अर्को दिन बिहान त हामीले हेलिकप्टर तयार गरेको छौं तपाईँले देश छाड्नु पर्ने भयो, प्रधानमन्त्री छाड्नु पर्ने भो नत्र अनर्थ हुने भो भन्न थालेछन् ।

हिजोका दिनमा उनलाई सफल र मजबुत प्रधानमन्त्री मान्दा, पाँच पटक चुनाव जित्दा, उनको कार्यकालमा दुनियाँकै ३० सबैभन्दा बढी अर्थ व्यवस्था भएको मुलुक बन्दा, पाकिस्तान र नेपालभन्दा माथिको अर्थव्यवस्था हुँदा, जीडीपी ग्रोथमा अमेरिका, बेलायत, इटली र फ्रान्स र जापानभन्दा माथि जाँदा उनलाई बंगलादेशले हाईहाई गरेको थियो ।

शेख हसिना १५ वर्ष प्रधानमन्त्री भएकी मान्छे हुन्, आज त्यही देशमा टुसुक्क अडिने ठाउँ भएन भाग्नै पर्‍यो । शेख हसिनाको आज घरघरमा फोटो टाँस्नेहरूले फोटो फाल्दैछन् । फेसबुक र इन्स्टाका पोष्ट कतिपयले उडाइसके । डिलिट गरिसके । यतिमात्रै हैन, हिजो उनको घरमा भित्र छिरेर उनले लगाउने भित्री वस्त्र झण्डा फहराए झैँ युवाहरूले फहराए । त्यसले त लाज पनि लजाएको छ ।

राम्रो कामकै पछाडि नराम्रो लुकिरहेको हुन्छ । नागमणिकै पछाडि सर्प पनि लुकिरहेको हुन्छ । उनलाई मान्छेहरूले वाहवाह भन्दै जाँदा उनी पनि हो न हो मै हो भन्ने पारामा लागिन् । हाम्रो रूपियाँभन्दा उनीहरूको टाँका सस्तो थियो । १०/१२ वर्षअगाडि म बंगलादेश जाँदा कहिले माथि जाला बंगलादेश हामी भन्दा ? भने जस्तो लाग्दथ्यो । उनकै पालामा विकासले छलाङ लियो । हाम्रो रूपैयाको भाउभन्दा टाका माथि लाग्यो । एक रूपैयाँ नेपालीले डेढ टाँका आउँथ्यो । अहिले उनीहरूकै महँगो भयो । म छक्क परेथेँ । कसरी हुन्छ होला र यो झैँ लाग्दथ्यो । यो शेख हसिनाकै कमाल थियो । तर, त्यो कमालले उनलाई मालामाल बनायो । धनमा, दौलतमा, सत्तामा, शक्तिमा र हुँदा हुँदा एकल चुनावजस्तै गरेर उनी पुन: सत्तामा आईन् ।

अब, बिस्तारै उनी धरहरामा र जनता धरहरामुनि जस्तै हुन थाल्यो । दुई तिहाइभन्दा बढी शक्ति निरंकुश बनेर जितेपछि जनताको बोली नसुन्ने र धरहराबाट फर्मान लगाउने भैरहेको थियो । उनको अहंकार चुलिँदै गयो । मैले जे बोले पनि हुन्छ भन्ने भयो । अक्सर अहंकारी शासकहरूलाई त्यस्तै हुन्छ र पतन हुन्छ । शब्द र कर्म नै उस्तै उस्तै हुन्छ । मैले बोलेको र गरेको जति ठीक कसको छ र भन्ने लाग्दछ । त्यति नै बेला वरपरका आसेपासेले कहाँ त्यो त एक मुठी मान्छे हो त्यतिले प्रदर्शन गरेर के हुन्छ र ? भनिदिन्छन् ।

अहंकारको घोडा चढेर हिनहिनाउँदै हिँडेको शासकले जनतालाई एक मुठी देख्छ र जे पायो त्यही बोल्छ । उनले विद्यार्थीहरूलाई पाकिस्तानी समर्थक वा राष्ट्रद्रोहीजस्तो शब्द बोलिन् । जसले विद्यार्थीहरूको मर्ममै प्रहार भयो । आन्दोलनमा घिउ थप्यो । अर्को सोसियल साईटमार्फत आन्दोलन चर्काइरहेका २६ वर्षीय युवा नाहिद इस्लामलाई उनले मर्लान्त पारेर पिट्न लगाइन् र पुलमुनि फालिन् । अरु विद्यार्थी पनि अपहरण गरिन् । आरक्षणको विरोध गर्नेलाई उनले आफ्नै बाबुको विरोध गरेको ठानिन् ।

निष्ठा र प्रतिष्ठामा अडिएर, अनुशासन र मेहनतमा उभिएर, सत्य र सर्मपणमा ठडिएकोलाई उमेरले हजार चन्द्रको दर्शन गरिसकेको भए पनि सत्तामा राख्ने रहेछ भन्ने उदाहरण एक पल्ट आएको छ । हामी कता लाग्ने ? हामी कता जाँदैछौ ? यो गम्भीर समीक्षा गर्ने बेला आएको छ ।

उनलाई लाग्दै लाग्दैनथ्यो । कुनै पनि हालतमा लाग्दैनथ्यो । मेरो यस्तो दुर्दिन सुरू हुन्छ भन्ने । संसारभरका शासकको मर्ने बेलाको दियो चहकिलो भए झैँ उनी पनि चम्किन् । संसारभर नै यही हो सबका सब जनता प्रदर्शनमा आउँदैनन् । धेरै मौन रहन्छन् । हसिनाले पनि मौन जनताको आवाज आन्दोलनमा समर्थन भन्ने बुझिन् । १७ करोडमा ५ लाख जना सडकमा उर्लिए के हुन्छ र ? भन्ने उनमा पर्‍यो । मौन जनता उनको विरोधमा पनि थिए भन्ने उनले बुझिनन् । उनी भाग्नेमा परिन् । त्यो दिन नभागेको भए उनको घरमा छिरेर सब सामान लैजाने र भित्री वस्त्र समेत हुराल्ने त्यो जनताले के गर्दथ्यो होला उनलाई म कल्पना गर्न सकिरहेको छैन ।

०००

नेपालमा पनि बंगलादेशको मनसुन कहिले भित्रिन्छ भनेर लेखिरहेको सुनिन्छ । पढिन्छ । बंगलादेशबाट मनसुन हैन आगो आउँछ भनेर भन्न थालिसके ।

एक गजलकारले गजल लेखे-

जब बाकसमा हाम्रो खुन (शव) र तिम्रो टनका टन सुन आउँछ ।
जब कपुरधाराबाट तिम्रो गुनको बदला घुन र भनसुन आउँछ
ए बाहरू, दाइ, भाउजू र देवरजीहरू तयार हुनुस् है अब
बंगालको खाडीबाट पानीको हैन आगोको मनसुन आउँछ ।

कोही भन्दैछन् । नेपालमा २०६३ पछि आन्दोलन आएकै छैन । अब त आउँछ । आउँछ । हाम्रोमा अति जान्ने सुन्ने अजासु बढी छन् र भन्छन् । मैले त पहिल्यै भन्या थिएँ नि ! जे भए पनि यही भन्ने अजासुहरू छन् । तर, पनि एक पल्ट बंगलादेशको आन्दोलनको धुन, मनमनै गुनेर, सुनेर, बुझेर मनन गर्नुपर्ने बेला भने आएको छ । दुःख परेपछि एक्लै परिने रहेछ । दुःख परेपछि छायाले पनि छाड्ने रहेछ । यो धन सम्पत्ति र वैभव त के कुरा भन्ने उदाहरण एकपल्ट देखिएको छ ।

निष्ठा र प्रतिष्ठामा अडिएर, अनुशासन र मेहनतमा उभिएर, सत्य र सर्मपणमा ठडिएकोलाई उमेरले हजार चन्द्रको दर्शन गरिसकेको भए पनि सत्तामा राख्ने रहेछ भन्ने उदाहरण एक पल्ट आएको छ । हामी कता लाग्ने ? हामी कता जाँदैछौ ? यो गम्भीर समीक्षा गर्ने बेला आएको छ ।


प्रतिक्रिया

2 thoughts on “दुःख त अँध्यारो रहेछ

  1. भाईको लेखाई गहकिलो र रोचक हुन्छ, यो पनि त्यस्तै छ। …. तर सत्ताको मदमा हुईंकिएको मान्छेले इतिहास पढछ, मात्र पढछ; सिक्दैन, त्यसैले तिनीहरूलाई सुनाउनु “भालुलाई पुराण सुनाउनु” हो। उदाहरण बग्रेल्ती छन, तिन्ले पढेकै छन, बखान जरुरी छैन; भाईले पनि लेख्नु भएकैछ। यो सत्ताको मद बडो बेगवान हुन्छ। जति माथिल्लो तहको सत्ता उति बेगवान मद … परिणाम : हसिना। जति उचाईबाट लडियो उति बढी चपट लाग्छ रे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *