विप्लव नेकपाको नमुना प्रयोग- पार्टीलाई आत्मनिर्भर बनाउन ३०० विघामा सामूहिक खेती
करिब ८० वटा इकाइमार्फत ३०० नेता तथा कार्यकर्ता उत्पादन कार्यमा
रुपन्देही । राजनीतिक दलले आफैं जग्गा खरिद गरेर वा भाडामा लिएर सामूहिक खेती थालेको घटना संसारमै विरलै होला, तर नेपालमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नयाँ रणनीतिका साथ सामूहिक खेती अगाडि बढाएको छ । नेकपाका महासचिव विप्लव आफैं खेतबारीमा पसेर कृषि उत्पादनमा सक्रिय छन् ।
राजनीतिक दल, तिनका भ्रातृ संगठनले उद्योगी-व्यवसायीसँग बारम्बार चन्दा मागेर पार्टी र नेताहरु चलेका हुन्छन् भन्ने भाष्य विप्लवले चिर्न खोजेका छन्, तर चन्दाको विषयमा उनका कार्यकर्ता पनि धेरै ठाउँमा जोडिएको खबर सार्वजनिक भएका छन् ।
नेपालमा राजनीतिक पार्टीलाई प्रत्यक्ष कृषिसँग तथा उत्पादन प्रणालीसँग जोड्ने विषयमा विप्लव नेतृत्वको नेकपा नमुना हो । अन्य कम्युनिष्ट पार्टी तथा उनीसँगै सशस्त्र युद्ध सुरु नेताहरुले फरक तरिकाले पार्टी सञ्चालन गरिरहेको समयमा विप्लवले पार्टीलाई प्रत्यक्ष उत्पादनका साधनसँग जोड्ने नयाँ प्रयोग गरेका छन् ।
नेपालमा तीनै तहका सरकारले कृषिबाटै समृद्धि आउने नीति तथा कार्यक्रम हरेक वर्ष सार्वजनिक गर्दै आएका छन्, तर व्यवहारमा त्यो देखिँदैन । विप्लवले भने कृषिबाट आत्मनिर्भर बन्न र बनाउन यो अभियान थालेको बताउँदै आएका छन् ।
नेकपाले केही जग्गा खरिद गरेको छ । कतै शैक्षिक संस्था र व्यक्तिका जग्गा भाडामा लिएर खेती थालेको छ । देशभर करिब ८० स्थानमा चक्लाबन्दी प्रणालीमा सामूहिक खेती र केही उद्योगसमेत सञ्चालन गरेर पार्टी पंक्तिमा बेग्लै उत्साह र जागरण ल्याइरहेको नेकपाले जनाएको छ । यस वर्ष करिब ३०० बिघामा खेती गरिएको छ ।
खासगरी विप्लवको गृहजिल्ला तथा उनको पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तु, छिमेकी जिल्ला अर्घाखाँची, दाङलगायतका विभिन्न स्थानमा खेती गरिएको छ । कपिलवस्तुको शिवगढीमा तीन बिघामा खाद्यान्न, अर्घाखाँचीको शितगंगामा १५० रोपनीमा गाई र लोकल कुखुरापालन, तरकारी तथा फलफूल खेती गरेको नेकपाले जनाएको छ ।
पार्टीका केन्द्रीय सदस्य एवं राप्ती ब्युरो इन्चार्ज सविनका अनुसार रोल्पाको घर्तीगाउँमा १५ रोपनीमा आलु र लसुन खेती, दाङको घोराही- १६ गेरुवामा ६ बिघामा सी कृषि फार्ममार्फत आलु र तोरी खेती गरिएको छ । ‘दाङकै बेलझुण्डीमा २५ बिघा जग्गा लिजमा लिएर ५ बिघामा माछापालनसहित कृषि उत्पादन गर्ने तयारी छ’, उनले भने, ‘सल्यानको छत्रेश्वरी गाउँपालिकामा १३ रोपनीमा ३०० कागतीका विरुवा र बर्दियामा धान खेती गरिएको छ ।’
पार्टीको पोलिटव्युरो सदस्य असल खड्काका अनुसार कपिलवस्तु र दाङमा धान र तरकारी, जुम्ला र मुगुमा स्याउ, सल्यानमा अदुवा, अर्घाखाँची, सिन्धुली, भोजपुरमा कागती, इलाममा चिया, ताप्लेजुङमा अलैंची खेती थालिएको छ ।
चितवनको माडीमा १५ बिघा जग्गा ९ वर्ष लिजमा लिएर ६ बिघामा माछापालन, ५ बिघामा चैते धान र बाँकीमा मकै, तोरी, आलु खेती र मौरीपालन भइरहेको उनले बताए ।
उनका अनुसार कृषि उत्पादन थालेपछि पार्टीका ठूला-साना सबै कार्यक्रममा खाना र नास्ताका लागि अधिकांश वस्तु बजारमा किन्नुपर्ने बाध्यता अन्त्य भएको छ । उल्टै बढी भएको उत्पादन बिक्री गरेर आर्थिक संकलन गरिएको उनको भनाइ छ ।
यस्तै काठमाडौंमा २ वटा गार्मेन्ट उद्योग, कपिलवस्तुमा सी उद्योगमार्फत सफाइ सामग्री हार्पेकलगायतका वस्तु उत्पादन भइरहेको छ । काठमाडौं र नुवाकोटको बीचमा पानी उद्योग तथा सुनसरीको झुम्कामा आलु चिप्स उत्पादन उद्योग स्थापनाको गृहकार्य भइरहेको नेकपाले जनाएको छ । पार्टीका अनुसार काठमाडौंसहित प्रमुख शहरमा आफ्ना कृषि उत्पादन बिक्री गर्न मार्ट (ठूला पसल) सञ्चालन गर्ने तयारी छ ।
‘हाम्रो पार्टीको अहिलेसम्म सात केन्द्रीय उत्पादन ब्युरो, २२ ब्युरो उत्पादन, ४१ जिल्लास्तर, ७ जनवर्गीय संगठन उत्पादन र ३ विभाग उत्पादन गरी करिब ८० वटा इकाइमार्फत उत्पादन भइरहेको छ’, सन्देशले भने, ‘जिल्लामा कमिटीसम्मका कम्तीमा ३०० जना नेता कार्यकर्ता उत्पादन र उद्योगमा प्रत्यक्ष संलग्न छन्, एक्लैभन्दा सामूहिक रुपमा खेती गर्दा धेरै सहज र आम्दानी पनि बढी हुँदोरहेछ ।’
केही समय पहिले पार्टी महासचिव विप्लवको नेतृत्वमा जुम्ला र कालीकोटमा १५ सय बढी स्याउका विरुवा रोपिएको थियो । अर्को वर्षसम्म जुम्ला र कालीकोटसहित आसपासका जिल्लामा २२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार बोट स्याउ रोप्ने लक्ष्य रहेको नेकपाले जनाएको छ ।
यस्तै सिलाइकटाइ, कपाल काट्ने, पानीपुरी बेच्ने व्यवसायमा पनि पार्टीका ५० जनाभन्दा बढी कार्यकर्ता सामूहिक रुपमा लागेका छन् ।
पार्टीको नवौं महाधिवेशनले पारित गरेको कम्युनिष्ट अर्थ दृष्टिकोणको दस्तावेजमा आधारित रहेर आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने मुख्य उद्देश्यअनुसार कृषिबाट आत्मनिर्भर तथा उद्योगबाट देशलाई समृद्ध बनाउने लक्ष्यअनुसार देशव्यापी रुपमा सामूहिक खाद्यान्न, पशुपालन, तरकारी र फलफूल खेती अभियान चलाएको खड्काले बताए ।
‘केही समययता पार्टी र जनवर्गीय संगठनका कार्यक्रममा हामी आफैंले उत्पादन गरेको धानबाट भात, तरकारी, माछामासु र मह खान थालेका छौं, कसैसँग चन्दा माग्न परेको छैन । बरु जाजरकोट र रुकुमका भूकम्प पीडितलाई पार्टीले उत्पादन गरेको धानको २५ क्विन्टल चामल बाँड्यौं’, उनले भने, ‘श्रम र उत्पादनको काममा भाग नलिने नेताहरुबाट निराश नागरिकहरुमा हाम्रो कृषि उत्पादन अभियानले आशा, विश्वास र भरोषाको सिंचाइ गरेको छ ।’
पार्टी नेतृत्वले कृषि उत्पादनलाई प्राथमिकता दिएर चलाएको अभियानले साँच्चिकै आशा जगाएको र अरु दलले पनि यसरी नै कृषिलाई व्यवहारमै प्राथमिकता दिने हो भने देशलाई आत्मनिर्भर बनाउन र समाजवादको आधार तयार गर्न सकिने उनी बताउँछन् । पार्टीले उत्पादन र श्रममा नेता कार्यकर्ता जोडिनैपर्ने नीति बनाएपछि पार्टीमा बेग्लै उत्साह र जागरण पैदा भएको नेकपाका नेता सन्देश दाबी गर्छन् ।
पार्टीले हरेक वर्षको असार १० देखि ३० गतेसम्मलाई श्रम दिन घोषणा गरेको छ । उक्त २० दिनमा पार्टीका सबै कार्यक्रम रोकेर व्यक्तिगत, पार्टी र समुदायको खेतमा पुगेर श्रमदान गर्नुपर्ने तथा हरेक २ महिनामा एक दिन श्रम गरेर उक्त दिनको पारिश्रमिक पार्टीलाई दिनुपर्ने नीतिले नेता कार्यकर्तामा श्रम संस्कृति विकास भएको उनको भनाइ छ ।
‘पार्टीले सामूहिक खेतीमा आधारित रहेर उत्पादन शुरु गर्न थालेपछि पार्टी पंक्तिमा उत्साह र आशा पलाएको छ’, सन्देशले थपे, ‘उत्पादनको ६० प्रतिशत आम्दानी पार्टी केन्द्रमा जान्छ, ४० प्रतिशतलाई फेरि सय प्रतिशत मानेर ७० प्रतिशत आम्दानी कृषि फार्ममा काम गर्ने नेता कार्यकर्तालाई दिन्छौं, ३० प्रतिशत सञ्चालन खर्च राख्छौं ।’
तीन वर्षभित्र देशभर एक हजार बिघामा खाद्यान्न, तरकारी, फलफूल खेती तथा पशुपंक्षी, माछा र मौरीपालनसहितका कृषि उद्यम गर्ने र १० हजार जना नेता कार्यकर्ता उत्पादनमा जोडिने लक्ष्य रहेको उनले बताए ।
कृषि उत्पादनलाई सहकारीसँग जोडेर ७७ वटै जिल्लामा काम गर्ने उद्देश्यले केही दिनअघि मात्रै पार्टीले सहकारी विभागमा ३० जना पार्टी नेता कार्यकर्ता सञ्चालक रहेको जनश्रम कृषि सहकारी संस्था दर्ता गरेको छ । जसको कार्यक्षेत्र नेपालभर छ । पार्टीले विभिन्न कार्यक्रम सञ्चालन गर्दा कसैसँग चन्दा मागेर खान नपर्ने गरी पार्टीलाई डेढ वर्षभित्रै चन्दामुक्त बनाइ आत्मनिर्भर बनाउने उद्घोषसहित महासचिव विप्लव आफैं काममा खटिने गरेकाले आफ्नो दलभित्र मात्र नभई अरु दलका नेता कार्यकर्ताका लागि समेत गतिलो उदाहरण बनेको अखिल समाजवादीका केन्द्रीय सदस्य विज्ञान सीले बताउँछन् ।
नेकपाको सामूहिक खेती र उद्योग सञ्चालन अभियानमा थुप्रै युवाविद्यार्थी जोडिएपछि देशमा कुनै सम्भावना छैन, विदेश नै जानुपर्छ भन्ने भाष्य बदल्न सजिलो भएको नेकपाका नेताहरुको तर्क छ ।
पार्टीका हरेक कार्यक्रममा, श्रमदानको समयमा महासचिव विप्लवले आत्मनिर्भर पार्टी बनाउन हरेक कार्यकर्ता उत्पादनमा जोडिनुको विकल्प नभएको बताउँदै आएको अर्का नेता प्रकाश सी बताउँछन् ।
‘पहिले पहिले काम गरेका फोटाहरुसमेत अन्य दलका नेताहरुले सामाजिक सञ्जालमा राख्न डराउने गरे पनि अहिले विप्लवको यो अभियानले सामान्य काम गरेका फोटो तथा भिडियो देख्न पाइने गरेको छ, यो पनि रुपान्तरण हो’, उनले भने ।
पार्टीका सकारात्मक र रचनात्मक गतिबिधि समेटेर तयार पारिएको गतिबिधि उत्कृष्ट लाग्यो ।