भारतलाई हराउन सके नेपालले उपाधि मात्र जित्ने छैन ! – Nepal Press

भारतलाई हराउन सके नेपालले उपाधि मात्र जित्ने छैन !

काठमाडौं। मध्य तथा दक्षिण एसियाली क्षेत्रका राष्ट्रको अन्तर्राष्ट्रिय भलिबल संघ (काभा)ले गत वर्ष काभा वुमन्स च्यालेन्जकप आयोजना गरेको थियो।

च्यालेन्जकपको यो तेस्रो संस्करण थियो र नेपाल आयोजक थियो । अघिल्ला दुई संस्करणको विजेता भए पनि नेपाल यस पटक ढुक्क थिएन किनभने यो प्रतियोगितामा भारतले पनि डेब्यु गर्दै थियो ।

भारतको इन्ट्री नेपाललाई किन पनि तनाव थियो भने यसअघि उसलाई कहिल्यै हराउन सकेको थिएन ।

नेपाल सेमिफाइनलसम्म पुगेर रोकियो तर भारतसँग पराजित भएर भने होइन । नेपाली टोली कजाख्स्तानसँग निराश हुन पुग्यो। त्यही कजाख्स्तानलाई फाइनलमा हराएर भारतले डेब्युमै उपाधि जित्यो । त्यसको करिब एक वर्षपछि नेपालमै काभा वुमन्स नेसन्स लिग भइरहेको छ ।

बुधवार साँझ उपाधिका लागि घरेलु टोलीले भारतसँग प्रतिस्पर्धा गर्दै छ । यस पटक नेपाल उच्च मनोबलमा देखिन्छ किनभने भारतलाई यसअघि हराइसकेको छ।

लिग चरणमा नेपालले भारतलाई ५ सेट खेलेर हराएको थियो। फाइनल पुग्ने क्रममा नेपाल र भारत दुवैले सेमिफाइनलमा सोझो सेटमा जित हात पारेका हुन् । मङ्गलवार नेपालले इरान र भारतले श्रीलंकालाई हराएको थियो ।

दक्षिण एसियाली महिला भलिबलमा भारतको एकछत्र राज छ। दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा भारतले सधैँ स्वर्ण जितेको छ ।

सन् २०१९ मा अन्तिम पटक आयोजना भएको सागमा भारतले नेपाललाई हराएर महिला भलिबलको स्वर्ण जितेको थियो । त्यति बेला नेपाल पहिलो पटक साग महिला भलिबलमा फाइनल पुगेको थियो ।

काभाअन्तर्गत १४ सदस्य राष्ट्र छन्। तर जारी प्रतियोगितामा ५  टोलीको मात्र सहभागिता रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *