खानेपानीको सेवाशुल्क वृद्धिविरुद्ध मेयर हर्क साम्पाङको राजीनामा माग्दै धरानमा प्रदर्शन – Nepal Press

खानेपानीको सेवाशुल्क वृद्धिविरुद्ध मेयर हर्क साम्पाङको राजीनामा माग्दै धरानमा प्रदर्शन

निर्णय फिर्ता लिन उपमेयर र वडाध्यक्षहरूले पनि गराए ध्यानाकर्षण

विराटनगर । धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको शुल्क र महसुलमा अचाक्ली मूल्य बढाएको विरोधमा स्थानीयले बोर्डको कार्यालय घेराउ गरेका छन् । खानेपानीको समस्या समाधान गर्न नसकेको र उल्टै शुल्क र महसुल बढाएको भन्दै उनीहरूले मेयर हर्क साम्पाङको राजीनामा माग गरेका छन् ।

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङले सरोकारवालासँग समन्वय नगरी आफूखुसी शुल्क बढाएको विरोधमा धरानमा १० राजनीतिक दलको अगुवाइमा एक सातादेखि आन्दोलन भइरहेको छ ।

धरानमा खानेपानीको समस्या समाधान गर्ने नाराको लमा चुनावमा उत्रिएका साम्पाङले अहिले महसुल र विभिन्न सेवा शुल्कको दर ह्वात्तै बढाएर ढाड सेकेको उपभोक्ताहरूको गुनासो छ । साउन १ गतेबाट लागु हुने गरी शुल्क र महसुलमा वृद्धि गरिएपछि राजनीतिक दल तथा नागरिक समाजले पुरानै शुल्क र महसुल कायम गर्न माग राख्दै चरणवद्ध आन्दोलन गरेका छन् ।

यो पनि पढ्नुहोस् : हर्क साम्पाङले ह्वात्‍तै बढाए धरानमा खानेपानीको सेवाशुल्क, २ इन्च पाइपको धारा जोड्न १ लाख लाग्ने

मेयर भएपछि साम्पाङले खानेपानी व्यवस्थापन बोर्ड उपमहानगरको मातहतमा ल्याएका थिए ।

यसैबीच शुल्क वृद्धिको निर्णय फिर्ताको मागसहित उपमेयर अइन्द्रबिक्रम बेघासहित वडाअध्यक्षले मेयरलाई ज्ञापनपत्र बुझाएका छन् ।

साविककै शुल्क र महसुल कायम गर्नुपर्ने भन्दै आन्दोलनरत १० राजनीतिक दलहरूले शुक्रबार सबै वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । सोही ध्यानाकर्षण पत्र लिएर उपमेयर बेघासहित वडा नं १५ का अध्यक्ष नरेश इवारम, १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) र १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) ले ज्ञापन पत्र बुझाएका छन् ।

नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडा १७ का अध्यक्ष भट्टराईले खानेपानीको मूल्यवृद्धि फिर्ता गर्न माग गरेर वडामा आएको ध्यानाकर्षण पत्र मेयरलाई बुझाएको बताए ।

(तस्बिर : हर्ष सुब्बा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर