यी पाँच प्रधानमन्त्री, जसले पहिलो विदेश भ्रमण भारतमा गरेनन् – Nepal Press

यी पाँच प्रधानमन्त्री, जसले पहिलो विदेश भ्रमण भारतमा गरेनन्

काठमाडौं । चौथो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओलीले यसपालि आफ्नो पहिलो विदेश भ्रमण भारतमा नगर्ने भएका छन् । बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने भएपछि भारत छुट्ने भएको हो ।

नेपालमात्रै होइन भारतसँग मित्रवत सम्बन्ध बनाएका साना दक्षिण एसियाली देशहरुका सरकार तथा राष्ट्र प्रमुखहरुको पहिलो विदेश भ्रमण भारत हुने चलन रहिआएको छ । यो लिखित नियम त होइन, तर चलिआएको चलन हो ।

नेपालको छिमेक पहिलो भ्रमण गर्ने कुनै लिखित नियम छैन । न छिमेकीहरुसँग गरिएको त्यस्ता कुनै सम्झौता नै छन् । नेपालका शासकहरुको तर्फबाट भएको पहिलो विदेश भ्रमण बेलायत थियो । सन् १८५० मा जंगबहादुर बेलायत र फ्रान्स पुगे । सन् १९०८ मा चन्द्रशमशेर बेलायत, फ्रान्स, इटाली र स्विटजरल्याण्ड पुगे ।

नेपालको पहिलो कूटनीतिक सम्बन्ध नै बेलायतसँग सन् १८१६ मा भएको थियो । नेपालको दोस्रो कूटनीतिक सम्बन्ध अमेरिकासँग भएको थियो । त्यसपछि मात्रै भारतसँग भयो । चीनसँग त नेपालको सम्बन्ध फ्रान्सपछि भएको थियो ।

नेपालको यस्तो खालको इतिहास रहेकोले नेपालका नेताहरुले छिमेकमै पहिलो भ्रमण गर्ने कुनै बाध्यकारी चलन नभएको बताउँछन् पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे । उनले आवश्यकताअनुसार भ्रमण हुने भन्दै त्यसले छिमेकीलाई असहज पनि नहुने बताए ।

यस्तै पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई पनि पाण्डे जस्तै तर्क गर्छन् । नेपालमा छिमेकहरु खासगरी भारतभन्दा पहिले कुन देश भ्रमण भयो वा भएन भन्नेले केही अर्थ नराख्ने उनी बताउँछन् ।

भारत वा चीनमा पनि यस्तो चलन नभएको बताउँदै उनी भन्छन्, ‘भ्रमण भएको प्रथम कि दोस्रो भन्नेले कुनै अर्थ राख्दैन ।’

यद्यपि भारत पहिले भ्रमण गर्ने यो चलन बेलाबेलामा क्रमभङ्ग हुँदै आएको छ । त्यस्तो क्रमभङ्गको श्रृङ्खला नेपालमा लामो समयदेखि चल्दै आएको छ । यहाँ श्रृङ्खलाबारे चर्चा गरिएको छ ।

१. टंकप्रसाद आचार्य

नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजापरिषद्का संस्थापक अध्यक्ष तथा नेपाली निजामती कर्मचारी क्षेत्रको नियम–कानुन बनाउने प्रसंगमा नबिर्सिने नाम हो टंकप्रसाद आचार्य । सन् १९५५ अगस्ट १ मा नेपाल र चीनको कूटनीतिक सम्बन्ध भएको अर्को वर्ष उनी चीन भ्रमणमा पुगेका थिए ।

भारतीय प्राध्यापक तथा नेपाल मामिलाका जानकार एसडी मुनीको किताब ‘फरेन पलिसी अफ नेपाल’का अनुसार आचार्य सन् १९५६ सेप्टेम्बर २५ बाट अक्टोबर ७ सम्म चीन भ्रमणमा गएका थिए । यो उनको पहिलो विदेश भ्रमण थियो । नेपाल र चीनको सीधा सडक र हवाई सेवा नभएको समयमा आचार्य चीन भ्रमणमा गएका थिए ।

चिनियाँ अखबार बेइजिङ रिकन्स्ट्रक्समा आचार्य चीनको अक्टोबर १ को राष्ट्रिय दिवसमा सहभागी भएको तस्बिर राखिएको छ । चिनियाँ सर्वोच्च नेता माओ, इन्डोनेसियाका राष्ट्रपति सुकार्नोसँगै आचार्य उभिएको तस्विर त्यहाँ प्रकाशन गरिएको छ ।

२. कीतिनिधि विष्ट

प्रधानमन्त्री भएर भारतभन्दा पहिलो पटक चीन पुग्ने प्रधानमन्त्री कीर्तिनिधि विष्ट पनि हुन् । उनी सन् १९७२ नोभेम्बरमा चीन पुगेका थिए । नोभेम्बर ५ मा चीनको राजधानी पुग्दा उनलाई चिनियाँ प्रधानमन्त्री चाउएन लाईले विमानस्थलमै स्वागत गरेका थिए ।

यो खबर तत्कालीन चीनको अङ्ग्रेजी भाषाको अखबार पेकिङ रिभ्यूले उल्लेख गरेको थियो । उनले माओसँग पनि भेट गरेको तस्विर पत्रिकामा प्रकाशन गरिएको थियो ।

३. पुष्पकमल दाहाल प्रचण्ड

पहिलो पटक प्रधानमन्त्री हुँदा २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्डले चीनको भ्रमण गरेका थिए । बेइजिङमा भएको पहिलो ओलम्पिकको समापन समारोहमा सहभागी हुन प्रचण्ड चीन पुगेका थिए ।

सन् २००८ अगस्ट २४ मा उनले चिनियाँ राष्ट्रपति हु चिन्ताओसँग भेट गरेका थिए । भारतीय मिडियाहरुमा प्रचण्डले परम्परा मिचेर चीनको पहिलो भ्रमण गरेको समाचार आएपछि प्रचण्डले नेपाल ओर्लनेबित्तिकै आफ्नो पहिलो भ्रमण चीन भए पनि पहिलो औपचारिक भ्रमण भने भारत नै हुने बताएका थिए ।

४. झलनाथ खनाल

सात महिना प्रधानमन्त्री भएका झलनाथ खनालको पहिलो विदेश भ्रमण पनि भारत भएन । उनले भारतको भ्रमणै गर्न पाएनन् । उनको पहिलो भ्रमण सन् २०११ मे ९ देखि १३ सम्म टर्कीका राजधानी इस्तानबुलमा भएको संयुक्त राष्ट्रसंघको चौथो अल्पविकसित देशहरुको सम्मेलनमा भाग लिने क्रममा भएको थियो ।

खनालको त्यो भ्रमणलाई अहिले परराष्ट्र मन्त्रालयले नेपाल र टर्कीको सम्बन्धको महत्वपूर्ण भ्रमणको रुपमा व्याख्या गरेर दुई देशको सम्बन्धको चर्चा गर्ने गरेको छ ।

५. केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीका यस अगाडि प्रधानमन्त्रीको रुपमा भएको पहिलो विदेश भ्रमणको सूचीमा भारत हुने गरेको थियो । यो कार्यकालको पहिलो भ्रमण भने भारत नहुने भएको छ ।

भारतसमेत सदस्य भएको बिम्स्टेक संस्थाको छ्रैटौं शिखर सम्मेलनमा ओली थाइल्याण्ड जाने भएका छन् । यही सेप्टेम्बर ४ र ५ मा हुने शिखर सम्मेलनमा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलगायतका बिम्स्टेकका अरु सदस्य राष्ट्रहरु बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्याण्डका सरकार तथा राष्ट्र प्रमुखहरुसँग भेट गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर