हाम्रो लक्ष्य पूरा भइसकेको छैन- कप्तान अरुणा शाही – Nepal Press

हाम्रो लक्ष्य पूरा भइसकेको छैन- कप्तान अरुणा शाही

काठमाडौं । नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भारतविरुद्धको ऐतिहासिक जीतमै आफ्नो टोली सीमित नरहने बताएकी छन् ।

भारतविरुद्ध पहिलो पटक जीत निकाल्नु खुशीको क्षण रहे पनि आफ्नो टोलीको लक्ष्य अझै पनि बाँकी रहेको उल्लेख गर्दै उनले लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने बताएकी छन् ।

नेपालले शनिबार भारतमाथि ३-२ को जीत निकाल्दै छिमेक प्रतिद्वन्द्वीविरुद्ध पहिलो पटक सफलता पाएको हो । यद्यपि नेपालकी कप्तान अरुणाले समूह चरणका खेल बाँकी रहेको र अबको लक्ष्य इरान जस्तो बलियो टोलीलाई हराउनु पनि रहेको उल्लेख गरिन् ।

उनले जीतबाट धेरै उत्साहित नभई सेमिफाइनल र फाइनलतर्फको खेलमा ध्यान दिने धारणा राखिन् । राम्रो सुरुवातका बावजुद लय बिग्रिए पनि रिकर्भर गर्न सफल भएको अरुणाको भनाइ थियो ।

नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले सन् २०१६ पछि नेपाली महिला भलिबलको स्तर क्रमशः वृद्धि भइरहेको प्रतिक्रिया दिए ।

भारतविरुद्ध पछिल्लो पटक कडा प्रतिस्पर्धा हुँदै आए पनि जित्न नसकेको उल्लेख गर्दै प्रशिक्षक भट्टले शनिबार जीत निकाल्दै इतिहास रचेको बताए ।

उनले बलियो टोली इरानविरुद्ध खेल्न बाँकी रहेकाले उपाधिका लागि धेरै मेहनत गर्न बाँकी रहेको औंल्याए ।

भारतीय टोलीका प्रशिक्षक जाई नारिनले शुरुवातमा सेट गुमाए पनि आफ्नो टोलीले फाइट ब्याक गरेको बताए । यद्यपि निर्णायक सेटमा केही गल्ती हुँदा खेल गुमाउनु परेको उनको भनाइ छ ।

फाइनलमा पुनः चुनौती दिने उनको विश्वास छ । भारतीय टोलीकी कप्तान अनुश्रीले नेपाललाई फाइनलमा हराउने अर्को अवसर पनि रहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *