४६ सेकेन्डमै ‘आत्मसमर्पण’, इटालियन बक्सर भन्छिन्- यस्तो ‘पन्च’ कहिल्यै भेटेको थिइनँ
काठमाडौं। पेरिस ओलम्पिकमा बिहीबार एक इटालियन महिला बक्सरले खेल सुरु भएको ४६ सेकेन्डमै आत्मसमर्पण गरिन्।
अल्जेरिन प्रतिद्वन्द्वीले नाकमा दुई पटक पन्च प्रहार गरेपछि एन्जेला कारिनीले हात उठाउँदै खेल्न नसक्ने संकेत गरेकी थिइन्।
‘मैले यस्तै पन्च यसअघि कहिल्यै महसुस गरेको थिइनँ’, ६६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी कारिनीले भनिन्।
अल्जेरियन खेलाडी इमानी खेलिफको ओलम्पिक सहभागिता नै विवादित बनेको थियो ।
महिला खेलाडीका रूपमा प्रतिस्पर्धा गर्न योग्यता नपुगेको भन्दै गत वर्ष आयोजित विश्व बक्सिङ च्याम्पियनसिपमा खेलिफलाई अयोग्य घोषणा गरिएको थियो ।
तर पेरिस ओलम्पिकको पूर्व सन्ध्यामा खेलिफलाई महिला खेलाडीका रूपमा प्रतिस्पर्धा गर्न अनुमति दिइएको थियो। पेरिस ओलम्पिकमा यस्तो अनुमति पाउने उनी दुई महिला बक्सरमध्ये एक थिइन् ।
महिला खेलाडी भए पनि पुरुष खेलाडीको शारीरिक गुण भएका कारण खेलिफ यसअघि विवादमा आएकी थिइन्।
खेलपछि कारिनीले खेलिफसँग हात मिलाइनन् र भाव विह्वल बनेकी थिइन्। कारिनीले नाक असाध्यै दुखेका कारण खेल त्यागेको प्रतिक्रिया दिइन्।
उनले खेलिफको लिङ्गबारे कुनै प्रतिक्रिया दिन चाहिनन्।
‘म टुटेको छु। म मेरो बुबाको सम्मानका लागि रिङमा गएको थिएँ। म योद्धा हुँ भनेर धेरै पटक भनिएको थियो तर आज मैले मेरो स्वास्थ्यका लागि खेल रोकेँ। मैले यस्तो पन्च कहिल्यै भेटेको थिइनँ‘, उनले भनिन् ।
गत वर्ष भारतको नयाँ दिल्लीमा भएको विश्व च्याम्पियनसिपमा खेलिफ र ताइवानी खेलाडी लिन यु तिङलाई अयोग्य घोषणा गरिएको थियो।
टेस्टोस्टोरोनको मात्रा सामान्य महिलामा भन्दा बढी भएका कारण महिला खेलाडीहरू यसअघि पनि पटक पटक विवादमा आएका थिए।