बहिनीको भिडियो खोज्दा आमाको भेटिएपछि… – Nepal Press

बहिनीको भिडियो खोज्दा आमाको भेटिएपछि…

काठमाडौं । बैशाख १९ गते बिहान साढे ७ बजे नवीना (नाम परिवर्तन) बाथरुममा नुहाइरहेकी थिइन् । बाथरुमभित्रको सानो झ्यालबाट मोबाइल छिराएर कसैले भिडियो खिचिरहेको शंका लागेपछि उनले चिच्याउँदै गुहार मागिन् ।

नवीना र उनका परिवारका सदस्यहरु जम्मा भए । उक्त भिडियो खिच्ने अकबर (नाम परिवर्तन) भएको शंका लागेर प्रहरीलाई खबर गरियो । घटनास्थल नजिकै रहेको काठमाडौं प्रहरीको युनिटले अकबरलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन गर्दा मोबाइलमा त्यस्तो केही भेटिएन । त्यसपछि अकबर छुटे ।

तर नवीनाकी दिदी सविना (नाम परिवर्तन)लाई चित्त बुझेन । उनले अकबरले कतै भिडियो डिलिट गरे कि भन्ने आशंका गरिन् र मोबाइल मागेर लगिन् । सफ्टवेयर डाउनलोड गरेर डिलिट गरिएका फाइल रिकभर गर्दा सविनाले बहिनीको त्यस्तो कुनै भिडियो फेला पारिनन् ।

तर केही भिडियो भने रिकभर भएका थिए, जुन देखेर सविना छक्क परिन् । भिडियोमा उनकी आमा देखिन्थिइन्, बाथरुममा नुहाइरहेको अवस्थामा ।

प्रहरीका अनुसार अकबरले त्यसरी नै बाथरुममा नुहाइरहेको अवस्थामा नवीनाकी आमाको भिडियो खिचेको पाइएको छ । स्रोतका अनुसार ३१ वर्षीय अकबर काम गर्ने ठाउँ र नवीना-सविनाको डेरा कोठा एउटै घरमा पर्छ ।

मोबाइलमा त्यस्तो भिडियो देखेपछि सविना-नवीनाले पुनः प्रहरीमा पुगेर उजुरी दिए । तर, अकबर फरार भइसकेका छन् । उनीविरुद्ध अश्लील किताब, पर्चा आदि बनाउन वा बिक्री गर्न नहुने कसुरमा अदालतमा अभियोगपत्र दायर गरिएको छ । यो कसुरमा उनी दोषी भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर