यमाललाई मेस्सीले बोकिरहेको १६ वर्ष पुरानो फोटो भाइरल भएपछि खुसी छन् फोटोग्राफर – Nepal Press

यमाललाई मेस्सीले बोकिरहेको १६ वर्ष पुरानो फोटो भाइरल भएपछि खुसी छन् फोटोग्राफर

काठमाडौं। सन् २००७ मा मुनिर नास्राउईले ६ महिने छोरालाई लियोनल मेस्सीसँग राखेर तस्बिर खिचाउने अवसर पाए। खासमा त्यो क्यालेन्डरका लागि खिचिएको तस्बिर थियो जसको विक्रीबाट प्राप्त हुने रकम च्यारिटीमा जाने भनिएको थियो।

तस्बिर खिच्ने जिम्मा जोवान मनफर्टले पाएका थिए। मेस्सी त्यतिबेला २० वर्षका मात्र थिए जसले विश्व फुटबलमा तरङ्ग ल्याउन सक्ने चर्चा मात्र सुरु हुँदै थियो। मनफर्टका लागि त्यो एउटा सामान्य काम मात्र थियो। उनले नास्राउईका छोरा, श्रीमती र मेस्सीलाई एउटै फ्रेममा राखेर केही तस्बिरहरू लिए।

१६ वर्षपछि यतिबेला सोही तस्बिरहरूलाई लिएर मनफर्टको खोजी हुन थालेको छ। जारी युरो कपमा स्पेनले समूहगत चरणमा सफलता प्राप्त गरेपछि नास्राउईले त्यतिबेलाको एक तस्बिर सामाजिक सञ्जालमा राखेर क्याप्सन लेखे, ‘दुई लिजेन्ड्सको सुरुवात।’ लगत्तै अरू तस्बिरहरू पनि सार्वजनिक भए।

ती ६ महिने बालक अहिले स्पेनको राष्ट्रिय टोलीबाट खेलिरहेका छन् र जारी युरो कपमा तहल्का मच्चाइरहेका छन्। १६ वर्षे लेमिन यमालकै प्रेरणामा स्पेन फाइनल पुगेको छ। यमालले एक गोल र तीन असिस्ट गरेका छन्। यतिबेला फोटोग्राफर मनफर्ट दंग छन्।

‘जब यो कुरा मैले थाहा पाएँ निकै खुसी लाग्यो’, १६ वर्षअघि तस्बिरमा कैद गरेका बालकले अहिले तहल्का पिटिरहेको सन्दर्भमा मनफर्टले स्काइस्पोर्टससँग भनेका छन्, ‘म खुसी छु की ती तस्विरहरु अहिले विश्वभर हेरिएको छ।‘

समाचार एजेन्सी एपीका फोटोग्राफर मनफर्टले उक्त तस्विरहरु लिन त्यतिबेला निकै गाह्रो भएको पनि अनुभव साटेका छन्।

‘मेस्सी निकै लजालु स्वभावका केटा थिए, अन्तर्मुखी। उनी अहिले पनि उस्तै छन्। तर अहिलेभन्दा पनि बढी लजालु। ६ महिनाको बच्चासँग भिझ्न उनलाई केही समय लागेको थियो’, मनफर्ट भन्छन्, ‘तर अन्त्यमा उनीहरू दुवैले निकै राम्रो गरेका थिए। यमाल निकै राम्रा थिए। छोटो समयमै उनले मेस्सीलाई आकर्षित गरेका थिए।’

सार्वजनिक भएका तस्बिरहरूमा मेस्सी र यमाल विभिन्न पोजमा देखिन्छन्। एक तस्बिरमा मेस्सीले प्लास्टिकको बकेटमा राखेर यमाललाई नुहाइदिरहेको देखिन्छ। अर्को तस्बिरमा मेस्सीले उनलाई काखमा लिइरहेका छन्। यस्तै एक तस्बिरमा यमाललाई उनकी आमा र मेस्सीले नुहाइदिरहेको देखिन्छ।

मेस्सी र यमालबीच केही समानता छन्। यमाल पछि मेस्सी बसेकै बार्सिलोनाको फुटबल एकेडेमी ला मासियामा करिब ७ वर्षको उमेरमा छिरेका थिए। उनी त्यहाँ करिब १० वर्ष बसेर सन् २०२३ मा बार्सिलोनाबाट १५ वर्षको उमेरमा डेब्यु गरे।

यू-१९ टोलीबाट खेल्न सुरु नगर्दै उनलाई बार्सिलोनाको सिनियर टोलीमा राखिएको थियो। मेस्सी पनि ७ वर्षको उमेरमा ला मासिया प्रवेश गरेका थिए। उनले पनि बार्सिलोनाको उमेर समूहको टोलीमा लामो समय नबिताई सिधै सिनियर टोलीमा स्थान बनाएका थिए।

मेस्सीलाई यमाल आफ्नो आदर्श मान्छन्। मेस्सीले जीवनमा प्राप्त गरेको आधा मात्र प्राप्त गर्न सके पनि आफूलाई पुग्ने उनको भनाई छ। बुधवार बिहान फ्रान्सविरुद्ध गोल गरेपछि उनी युरो कप इतिहासमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्। अबको ३ दिनपछि उनी १७ वर्ष लाग्दैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *