कैलालीमा अचेत भेटिएका दुई जनाको मृत्यु


कैलाली । कैलालीमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ।
मंगलबार लम्की चुहा नगरपालिकाका छुट्टाछुट्टै ठाउँमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
अचेत अवस्थामा फेला परेका लम्की चुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विकको मृत्यु भएको र अर्का मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ।
विक हिजो बाटोमा अचेत अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
त्यसैगरी लम्की चुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका अन्दाजी ५६ वर्षका पुरुषको पनि मृत्यु भएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरीले उद्धार गरेर उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुवै घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए ।