कैलालीका अधिकांश नदीमा बाढी, दर्जनौँ परिवार विस्थापित (तस्बिरसहित) – Nepal Press

कैलालीका अधिकांश नदीमा बाढी, दर्जनौँ परिवार विस्थापित (तस्बिरसहित)

कैलाली । कैलालीका साना ठूला नदीमा पानीको सतह बढेर गाउँ पस्न थालेपछि तटीय क्षेत्रका स्थानीयहरू विस्थापित हुन थालेका छन् ।

कर्णाली नदीको बहावले सतर्कता तह पार गरेको छ । लगातारको वर्षाका कारण कर्णाली नदीको चिसापानी क्षेत्रमा जल सतह १०.८ मिटर पुगेको छ।यहाँ जल सतह १० मिटर पुगेका सतर्कता तह पार गरेको र तटीय क्षेत्रमा बाढीको जोखिम रहन्छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सतर्कता तह पार गरेपछि कैलाली र बर्दियाका नागरिकका मोबाइलमा सतर्कता अपनाउन एसएमएस पठाइएको छ। यस क्षेत्रमा सोमबारसम्म बाढीको जोखिम छ ।

अहिले पनि पानी परिरहेको हुँदा अझै जल सतह बढ्ने जनाइएको छ । सम्भावित खतराबाट जोगिन नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन भनिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार मोहना नदीमा पनि जल सतह ३ मिटर पुगिसकेको छ । कन्द्रा र खुटिया नदीमा पनि पानीको बहाव बढिरहेको उनले बताए । यी चार कैलालीका प्रमुख नदी हुन् । यी नदीमा जल सतह बढ्दा कैलालीको दक्षिणी भाग डुबानमा पर्ने हुन्छ ।

अहिले पनि जोशीपुर, टिकापुर, भजनी लगायतका केही बस्तीहरू डुबानमा परिसकेका छन् ।

जोशीपुर गाउँपालिका ३ मा काँडा नदी बस्तीमा परेपछि १८ जना विस्थापित भइसकेका छन् । ७ पुरुष ८ महिला र तीन बालबालिकालाई स्थानीय विद्यालय र सामुदायीक वनको भवनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।

मोहना नदीको पानीले धनगढी उपमहानगरपालिका १९ को बस्ती जोखिममा परेको छ । यहाँ रहेको सशस्त्र प्रहरी कार्यालयको विओपी नै डुबानमा परेको छ ।

टिकापुर वडा नम्बर ६ मा पथरैया नदी बस्ती पस्दा ४० परिवार विस्थापित भएका छन् । उनीहरूलाई पनि सुरक्षित ठाउँमा ल्याइएको छ । भजनीका केही बस्तीहरू पनि डुबानको चपेटामा परेका छन् । यहाँका स्थानीयहरू हुलाकी सडकमा आएर बसिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर