भेटेरिनरी अस्पताल मुगुका कार्यालय प्रमुख बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

भेटेरिनरी अस्पताल मुगुका कार्यालय प्रमुख बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख भीमचन्द्र बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

आइतबार पशु वधशाला निर्माणमा अनियमितता गरेको आरोपमा पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुका कार्यालय प्रमुख बुढासहित ६ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्यालयले आर्थिक बर्ष २०७५÷०७६ को पशु वधशाला निर्माणमा अनियमितता गरेको तथा सोही आर्थिक वर्षको भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनी कागजात मिलाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

भेडा खरिद तथा गोठ निर्माण कार्यका लागि ऋणीमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँग सम्झौता भई गोठ निर्माण कार्यमा फिल्डमा नभएको कामलाई भएको भनी भुक्तानी दिइएको आरोप पत्रमा उल्लेख छ ।

नक्कली बिल भरपाई बनाएर बढी भुक्तानी दिएको आरोप उनीमाथि छ । आयोगले प्रमुख बुढा विरुद्ध २० लाख ७० हजार ४४९ रुपैयाँ बिगो कायम गरेको छ ।

यस्तै, छाँयानाथ रारा नगरपालिका मुगुका तत्कालीन इन्जिनियर हरिदेव पंडित र सव–इन्जिनियर विष्णुभक्त हितानलाई विरुद्ध १६ लाख ७० हजार ६२८ रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै, ऋणीमोक्ष सहकारीका सञ्चालक सुरबहादुर बुढा विरुद्ध ३ लाख ९९ हजार ८२१ रुपैयाँ बिगो कायम गरिएको छ । कर्णाली एकीकृत महिला विकास मञ्चकी सञ्चालक राधिका मल्ल विरुद्ध आयोगले १२ लाख २३ हजार ७ सय रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।

त्यसैगरी रावत मासु पसलका सञ्चालक तिलकबहादुर रावतविरुद्ध पनि मुद्दा दायर गरिएको छ । मासु पसल भवन निर्माण कार्यमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी काम भएको भन्दै भुक्तानी लिएको आयोगको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर