सिंहदरबारको ‘एक्सन रूम’ बाट प्रधानमन्त्रीले लिए बाढीपहिरोको क्षतिबारे जानकारी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी वर्षासँगै सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’ बाट बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी लिएका छन् । साथै विपद्बाट प्रभावित जनताको जीउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।
बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीले दुःख जनाउनुको साथै उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।
‘विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ,’ प्रधानमन्त्रीले भने, ‘यस वर्ष विपदबाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ ।’
सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दै प्रधानमन्त्रीले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सबै राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिलसमेत गरेका छन् ।