कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव गुरागाईं सिफारिस


काठमाडौं । कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईं सिफारिस भएका छन् । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय बिराटनगरमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सिफारिस समिति बैठकले उनको नाम प्रदेश प्रमुख पर्शुराम खापुङसामु सिफारिस गरेको हो ।
लामो समय निजामती सेवा बिताएर नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी सचिवबाट अनिवार्य अवकाशमा गएका गुरागाईंसँग लोकसेवा आयोगमा काम गरेको अनुभव छ । मोरङको मंगलबारे स्थायी घर भएका उनी दुई वर्ष अघि लोक सेवा आयोगको कार्यालयबाटै अनिवार्य अवकाशमा गएका थिए ।
सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी व्यवस्था छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगको अध्यक्षको अवधि ६ वर्ष रहने व्यवस्था छ । यस अघिका अध्यक्ष उत्तम भट्टराई उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए ।
आयोगमा अहिले टीकादत्त राई र सजना दाहाल सदस्य रहेका छन् ।