युरो कप र कोपा अमेरिकामा को छन् गोल्डेन बुटको दावेदार ?
रोनाल्डो गोलविहीन, मेस्सीको सम्भावना कम


काठमाडौं । जर्मनीमा भइरहेको युरोकप र अमेरिकामा भइरहेको कोपा अमेरिका दुवैको सेमिफाइनल समीकरण पूरा भएको छ ।
युरो कपको सेमिफाइनलमा फ्रान्सले स्पेन र नेदरल्यान्ड्सले इङ्ल्यान्डको सामना गर्ने छ । यस्तै, कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडा तथा उरुग्वेले कोलम्बियासँग खेल्ने छ ।
युरो कपमा नेदरल्यान्ड्सका कोडिन गाक्पोले सर्वाधिक ३ गोल गरेका छन् । उनले एक असिस्ट पनि गरेका छन् । जर्जियाका जर्जेस मिकाउत्जीले पनि ३ गोल र एक असिस्ट गरेका छन् । जर्मनीका यमाल मुसियाला र स्लोभाकियाका इभान स्रान्जले ३÷३ गोल गरेका छन् ।
स्पेनका डानी ओल्मो र फाबियान रुइजले समान २ गोल र २ असिस्ट गरेका छन् । इङ्ल्यान्डका जुड बेलिङ्घम, हेरि केन तथा नेदरल्यान्ड्सका डोनियल मालेनको २/२ गोल छ । गत विश्वकपको सर्वाधिक गोलकर्ता केलियन एमबाप्पेको एक गोल र एक असिस्ट छ ।
नेदरल्यान्ड्सका मेम्फिस डिपे र वौट विघोर्स्टको पनि एक गोल र एक असिस्ट छ । स्पेनका निको विलियम्स, र इङ्ल्यान्डका बुकायो साकाले पनि समान एक गोल र एक असिस्ट गरेका छन् । क्रिस्टियानो रोनाल्डो एक गोल नगरी विदा भएका छन्। उनको टोली पोर्चुगललाई फ्रान्सले क्वाटरफाइनलमा हरायो ।
यता कोपा अमेरिकामा अर्जेन्टिनाका लौतारो मार्टिनेज ४ गोलसहित सर्वाधिक गोलकर्ता रहेका छन् । उरुग्वेका म्याक्समिलियानो अराउजुले २ गोल र एक असिस्ट गरेका छन् । कोलम्बियाका झोन कोर्डोबा र ड्यानियल मुनोजले पनि समान २ गोल र एक असिस्ट गरेका छन् ।
उरुग्वेका डार्विन नुनेजले २ गोल गरेका छन् । कोलम्बियाका हामेस रोड्रिगुएजले १ गोल र ५ असिस्ट गरेका छन् । उरुग्वेका फाकुन्डो पेलिस्ट्री र मेटियास भिनाले समान एक गोल र एक असिस्ट गरेका छन् ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अझै गोल गर्न सकेका छैनन् । उनले एक असिस्ट गरेका छन् । उनले कोपा अमेरिकाको अघिल्लो संस्करणमा गोल्डेन बल र गोल्डेन बुट दुवै जितेका थिए ।