ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरिएपछि कति दबाबमा छन् प्रशिक्षक ?


काठमाडौं। उपाधि दाबेदार ब्राजिल जारी कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरियो। यस पटक ब्राजिललाई उरुग्वेले अन्तिम ८ बाट बिदा गर्यो, टाइब्रेकरसम्म पुगेर।
अन्तिम १६ मिनेटमा उरुग्वे १० खेलाडीमा सीमित भएर खेलेको थियो तर ब्राजिलले त्यसलाई सदुपयोग गर्न सकेन। त्यसपछि सोझै पेनाल्टी सुटआउटबाट निर्णय लिइयो जहाँ उरुग्वेका दुई वटा प्रहार गोल हुन सकेनन्।
उरुग्वेले सुरुका तीन प्रहारमा गोल गरेको थियो। त्यसपछि चौथो प्रहारमा चुकेको उसको पाँचौँ प्रहारलाई रोक्ने ब्राजिलका गोलरक्षक एलिसन बेकरको प्रयास सफल हुन सकेन।
ब्राजिल पहिलो र तेस्रो प्रहारमा असफल भएको थियो। यो नतिजाले ब्राजिलको लगातार तेस्रो संस्करण फाइनल खेल्ने सपना पुरा हुन सकेन।
ब्राजिलले अन्तिम पटक सन् २०१९ मा कोपा जितेको थियो। त्यसको दुई वर्षपछि आफ्नै मैदानमा फाइनलसम्म पुगे पनि उपाधि जोगाउन सकेको थिएन। ब्राजिललाई १-० गोलले हराएर अर्जेन्टिना २८ वर्षपछि कोपा अमेरिका विजेता बनेको थियो।
अर्जेन्टिना र उरुग्वे कोपा अमेरिकाका सर्वाधिक उपाधि विजेता हुन्। उनीहरू दुवैले यो प्रतियोगिता १५र१५ पटक जितेका छन्। ब्राजिलले ९ पटक जितेको छ। अर्जेन्टिना १४, उरुग्वे ६ र ब्राजिल १२ पटक फाइनलमा पराजित भएका छन्।
क्वाटरफाइनलबाटै बाहिरिएपछि ब्राजिल फुटबल र त्यसका समर्थक निराश छन्। नतिजाको सम्पूर्ण जिम्मेवारी आफूले लिने प्रशिक्षक डोरिभल जुनियरले बताएका छन्।
‘यो हामीले अपेक्षा गरेको नतिजा होइन। तर यो टिमलाई सुधार गर्ने र हुर्काउने थुप्रै ठाउँहरू छन्’, हारपछि डोरिभलले भनेका छन्, ‘यस किसिमको कामका लागि ठुलो धैर्यता चाहिन्छ।’
डोरिभल गत जनवरीमा मात्र ब्राजिलको प्रशिक्षक बनेका हुन्। उनी आफ्नो समयका नाम चलेका फुटबलर होइनन्। ब्राजिलका लागि कहिल्यै खेल्न पाएनन्। सन् २००२ मा प्रशिक्षण करियरका थालेका ६२ वर्षीय डोरिभलसँग ब्राजिलका केही उपाधि दाबेदार प्रिमियर क्लब सम्हालेको अनुभव छ।
डोरिभलले सम्हालेयता ब्राजिलले खेलेको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। तर जारी कोपा अमेरिकामा ब्राजिलको प्रदर्शन उल्लेखनीय रहेन। समूहगत चरणमा उसले एक जित र दुई बराबरीको नतिजा निकालेको थियो। कोस्टारिकासँग गोलरहित बराबरी खेलेको थियो भने पाराग्वेलाई ४-१ गोलले हराएको थियो।
समूहको अन्तिम खेलमा कोलम्बियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो। स्टार स्ट्राइकर नेमार चोटका कारण कोपा अमेरिका खेल्ने टोलीमा थिएनन्। अर्का प्रभावशाली विंगर भिनिसियस जुनियर कार्डका कारण क्वाटरफाइनलमा उपलब्ध नहुनु ब्राजिलका लागि दुर्भाग्य रह्यो।
प्रशिक्षक डोरिभलले आफू ब्राजिल टिम निर्माणको क्रममा रहेको उल्लेख गरेका छन्। ‘यो एउटा प्रोसेस हो र टिम निर्माणका क्रममा यस्तै थुप्रै समस्याहरू आइपर्छन् । मानिसहरूले नबुझ्न सक्छन् की जब बिग्रिएको अवस्थाबाट टिम निर्माण भइरहेको हुन्छ परिस्थिति यस्तै हुन्छ’, डोरिभलले भनेका छन्।
ब्राजिल विश्व फुटबलमा कुनै समय एकछत्र दबदबा बनाएको टोली हो। तर पछिल्लो समय ब्राजिल आफ्नो साख जोगाउन चुकिरहेको छ। विश्वकप सर्वाधिक ५ पटक जित्ने टोली हो तर सन् २००२ यता विश्व विजेता बन्न सकिरहेको छैन।
सन् २००६, २०१०, २०१८ र २०२२ को संस्करणमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो भने सन् २०१४ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।
ब्राजिल पछिल्लो एक वर्षयता कमजोर लयमा छ। ब्राजिलले पछिल्ला १२ खेलमा ५ बराबरी, ४ हार र ३ जित निकालेको छ। ब्राजिलले गत अक्टोबरमा भएको विश्वकप छनोट खेलमा उरुग्वेसँग २-० गोलले पराजित भएको थियो।
त्यही खेलमा नेमारको बायाँ एसिएल च्यातिएको थियो। त्यतिबेला ब्राजिल छनोटका लगातार तीन खेलमा पराजित भएको थियो।
सन् २०२६ मा आयोजना हुने विश्वकपको महादेशीय छनोटमा ब्राजिल छैटौँ स्थानमा छ। ब्राजिलले ६ खेलमा २ जित, एक हार र तीन बराबरीको नतिजा निकालेको छ।
‘हाम्रो अहिलेको मुख्य उद्देश्य भनेको विश्वकपमा छनोट हुनु हो’, डोरिभलले भनेका छन्।