कैदकट्टा मिनाहा सिफारिस भएका ६३० जनाको नामावली सार्वजनिक (नामावलीसहित)
कानूनी अड्चनले गणतन्त्र दिवसमा माफी मिनाहा नपाएकालाई तत्काल माफी दिने सरकारको तयारी


काठमाडौं । सरकारले कैदकट्टा मिनाहा गर्नका लागि सिफारिस भएका ६३० जनाको नामावली सार्वजनिक गरेको छ ।
गत जेठ १५ सम्म ५० प्रतिशत कैद सजाय भोगिसकेका कैदीलाई कानूनी अड्चनका कारण कैदकट्टा मिनाहा हुन सकेको छैन । अब सरकारले उनीहरुको कैदकट्टा मिनाहा गर्ने गरी सरकारले प्रक्रिया अघि बढाएको हो ।
सबै कारागारबाट गत जेठ १५ गतेसम्म ५० प्रतिशत कैद सजाय भोगिसकेकाको नामावली कारागार व्यवस्थापन विभागमा आइसकेको विभागका महानिर्देशक जयनारायण आचार्यले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार संशोधन कानूनमा कैद मिनाहा गर्नुअघि ७ दिनको म्याद दिएर उजुरी आव्हान गरिएको उनले बताए ।
विभागका अनुसार फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ५८६ जना, ज्येष्ठ नागरिक ऐन, २०६३ दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका ३ जना र सर्वोच्च अदालतको २०८० वैशाख ८ मा भएको (घटना हुँदाको तत्काल प्रचलित कानून आकर्षित हुने) फैसला समेतका आधारमा २०७५ भदौ १ भन्दा अगाडी घटना भई ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना गरी जम्मा ६२० जना कैदी बन्दीको कैद कट्टा सिफारिस गर्नका लागि कैद कट्टा नियमावली, २०७६ को नियम ६ को उपनियम ३ मा भएको व्यवस्था बमोजिम सूची सार्वजनिक गरेको हो ।
जसमा गृह मन्त्रालयको जेठ २२ को पत्रानुसार फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसुर कैद नियमावली, २०७६ (तेस्रो संशोधन २०८१), ज्येष्ठ नागरिक ऐन, २०६३ समेतको व्यवस्था बमोजिम कैदी बन्दीको कैद कट्टा गर्नका लागि विभागले सूची सार्वजनिक गरेको हो । सबै कारागार र बाल सुधार गृहमा रहेका, प्रचलित कानून बमोजिम कैद छुटका लागि सिफारिस गर्न योग्य कैदी बन्दीको निवेदन सहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिस प्रमाणित भई आए अनुसार विभागले सूची सार्वजनिक गरेको छ ।
विभागले उल्लेखित कैदी बन्दीको कैद कट्टा सिफारिस गर्ने सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात दिन भित्र तथ्य प्रमाण सहित विभागमा उपस्थित भएर वा विभागको इमेल ठेगानामा उजुरी वा गुनासो दर्ता गराउन सबैका लागि सूचना जारी गरेको हो ।
फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली २०८१ को नियम ६ को उपनियम ३ अनुसार कारागार कार्यालयबाट सिफारिस सहितको निवेदनमाथि जाँचबुझ गर्दा ऐन वा जेष्ठ नागरिक सम्बन्धी प्रचलित कानून तथा नियमावली बमोजिम कसुरदारलाई लागेको कैद कट्टा गर्न उपयुक्त देखिएमा विभागले अनुसूची ३ बमोजिमका विषय समावेश भएको एकमुष्ट विवरण तयार गरेर त्यस्तो कसुरदारको सम्बन्धमा उजुरी वा गुनासो गर्न ७ दिनको समय दिएर विभागको वेबसाइटमा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यसै व्यवस्था अनुसार विभागले कैद कट्टाका लागि सिफारिस भएकाको नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको हो । विभागले सुरुका दिनमा कैद कट्टा भइसकेपछि नामावली सार्वजनिक गर्ने गरेको भए पनि केहि वर्ष यता भने गोपनीयताको हक हनन हुने भन्दै नाम सार्वजनिक गर्न रोकेको थियो ।