मनोज गजुरेलको घरमा गएर मीनाको गुण्डागर्दी, छोरालाई समेत ‘टर्चर’ दिँदै – Nepal Press

मनोज गजुरेलको घरमा गएर मीनाको गुण्डागर्दी, छोरालाई समेत ‘टर्चर’ दिँदै

काठमाडौं । मनोज गजुरेलले पूर्वपत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेको सात वर्ष भइसकेको छ । तर, आजका दिनसम्म पनि पूर्वपत्नीबाट उनी निरन्तर प्रताडना खेप्दै आइरहेका छन्, जसको उत्कर्ष आज देखियो ।

मीनाले केही केटाहरू लिएर बालकोटस्थित गजुरेलको घरमा पुगी गुण्डागर्दी गरेकी छन् । उनले गजुरेलकी ८५ वर्षीया आमालाई लछारपछार पार्नुका साथै घरमा ताला लगाउने प्रयास गरेकी थिइन् । प्रहरीले उनलाई घर नजिकैबाट पक्राउ गरेको छ ।

डिभोर्स भएलगत्तैदेखि सामाजिक सञ्जालमार्फत मनोजको चरित्रहत्यामा उत्रिँदै आएकी थिइन् मीना । कहिले युट्यूबरलाई अन्तरवार्ता दिएर त कहिले टिकटकमा गालीगलौज गरेर उनले मनोजलाई मानसिक यातना दिइरहिन् । यो क्रम आजको दिनसम्म पनि टुटेको छैन ।

मनोज मात्र नभएर उनका छोराछोरी पनि आमाको हर्कतबाट हैरान छन् । डिभोर्सपछि बुवासँग छोरा र आमासँग छोरी बस्ने सम्झौता भएको थियो । तर, छोरी आमासँग धेरै दिन टिक्न सकिनन् । उनी फर्केर बुवासँगै आइन् । अहिले उच्च शिक्षाका लागि बिदेसिएकी छन् । छोरा मिरोज भने मानसिक समस्याबाट गुज्रिरहेका छन् । आमाले बुवालाई दिएको पीडालाई मिरोजले र्‍याप बनाएर गाएका समेत थिए ।

केही दिनअघि मनोज टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा आफ्नो छोराको अवस्था सम्झेर भक्कानिएका थिए । त्यसपछि मीनाले फेरि टिकटकमा मनोज र मिराजमाथि लगातार विषवमन सुरु गरिन् । निकटस्थ स्रोतका अनुसार पछिल्ला केही दिनदेखि मीनाले छोरालाई पनि लगातार टर्चर दिन थालेकी छन् । उनले धम्कीका म्यासेजहरू पठाउने गरेको स्रोतले बताएको छ ।

आज बिहान मनोज घरबाट निस्केको थाहा पाएपछि मीना ‘अभियन्ता’ भनिने केही केटाहरू लिएर उनको घरमा पुगेकी थिइन् । उनीहरुले सुरुमा ढोका ठटाएर फुटाउने प्रयास गरे । घरभित्र घुसेर मनोजकी आमालाई मीना स्वयम्ले हातपात र लछारपछार गरिन् । काकीलाई पनि पिटिन् । त्यो देखेर झापाबाट उपचारका लागि आएकी मनोजकी दिदी भूईंमा ढलेकी थिइन् ।

मनोजका माइला दाइ केशवले घटना थाहा पाएर दौडिँदै आएका थिए । उनी आउँदा एक युवकले घरको गेटमा सिक्री लगाउने प्रयास गर्दै रहेनछन् । दाइलाई देखेर उनी भाग्ने प्रयास गरे । तर, केशवले स्कुटरको चाभी थुत्ने प्रयास गरे ।

यसअघि नै छिमेकीले प्रहरीलाई खबर गरिसकेका थिए । मीना ढकालहरू भाग्ने प्रयासमा रहेको बेला प्रहरीले उनीहरूलाई झ्यापझुप पारेर भ्यानमा हालेको छ । अहिले प्रहरी कार्यालयमा दुवै पक्षबीच कुराकानी भइरहेको बुझिएको छ । मनोजका परिवारले मीनामाथि कडा कारबाहीको माग राखिरहेका छन् ।

यसैबीच मीनाले प्रहरी हिरासतबाटै फेसबुकमा सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री रवि लामिछाने र मनोज गजुरेलको मिलेमतोमा आफूलाई पक्राउ गरिएको दाबी गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर