एमालेले पुन: माग्यो प्रधानमन्त्रीको राजीनामा, बहानाबाजीमा देशलाई अल्झाइरहेको निष्कर्ष (भिडिओ)


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुन: राजीनामा दिएर बाटो खोलिदिन अनुरोध गरेको छ । आज बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परेको प्रचण्ड सरकारले विभिन्न निर्णय गर्न थालेको भन्दै बैठकले आपत्ति जनाएको बताए ।
उनले भने, ‘राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्न आग्रह गरेका छौं । अहिले सरकारले विभिन्न नर्णय गरिरहेको छ । अल्पमतमा परेको सरकारले निर्णय गर्न हैसियत राख्दैन । राजीनामा पहिलो माग हो । यदि नदिए विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं ।’
बर्तौलाले विश्वासको मत भन्दै प्रधानमन्त्रीले के बहानामा अल्झाइरहेको भन्दै प्रश्न गरे ।
उनले भने, ‘१० दिन, ७ दिन के निर्णय गर्न प्रधानमन्त्रीले देशलाई कुराउँदै हुनुन्छ ? के बहानामा के गर्न अल्झाइरहनुभएको छ ? यो अनुचित कार्य हो । एक दिनको समय पनि खेर नफाली राजीनामा दिनुपर्छ ।’