नारायणी नदी खतराको तहभन्दा धेरै माथि, नदी किनारका १७१ जनालाई सुरक्षित स्थानमा सारियो – Nepal Press

नारायणी नदी खतराको तहभन्दा धेरै माथि, नदी किनारका १७१ जनालाई सुरक्षित स्थानमा सारियो

चितवन । लगातारको वर्षाले नारायणी नदीमा बाढी आएपछि जोखिममा रहेका १ सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

नारायणी नदी किनार आसपासका भरतपुर महानगरपालिका वडा नम्बर १६, ३, १७ लगायतका नदी किनारका बाढी जोखिम क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर–१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३ गरी जम्मा ५९ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

भरतपुर–३ मा रहेको सडक बालबालिका पुनर्स्थापना केन्द्र हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको छ ।

भने भरतपुर–१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा सुरक्षित स्थानमा सारिएको छ ।

भरतपुर–३ बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जनालाई ९३ पुरुष, १ महिला०लाई आफन्तको घरमा सारिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
त्यसैगरि भरतपुर–१ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको वृद्धाश्रम, कुटी र स्थानीय बासिन्दा गरी जम्मा २८ जना ‍(२५ पुरुष, ३ महिला)लाई नजिकैको मारवाडी समाजको भवनमा सुरक्षित साथ सारिएको उनले बताए ।

लगातारको वर्षाका कारण नारायणीमा आएको बाढीले भरतपुर–३ को न्यूरोड र नगरवन जोड्ने झोलुंगे पुल बगाएको छ । शनिवार राति साढे ११ बजेको समयमा बाढीले झोलुंगे पुलको दुवै तर्फको पिल्लर भत्काइ पूर्ण रुपमा क्षति भएको प्रजिअ यादवले जानकारी दिए ।

चितवनमा बिहानैदेखि पानी परिरहेको छ । नारायणी नदीमा बाढीको सतह अझै पनि सतर्कता तह माथि रहेको छ । नारायणी पुल जलमापन केन्द्रमा बाढीको सतह ११.७४ मिटर र देवघाटमा बाढीको सतह ८.८५ मिटर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर