पत्रकार महासंघको निर्वाचन तालिकामा मधेशका आठै जिल्ला शाखाको आपत्ति – Nepal Press

पत्रकार महासंघको निर्वाचन तालिकामा मधेशका आठै जिल्ला शाखाको आपत्ति

जनकपुरधाम । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका र मतदाता नामावलीमा मधेशका आठै जिल्ला शाखाले आपत्ति जनाएका छन् ।

मधेशका आठै जिल्ला शाखाले आज संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रीय निर्वाचन समितिले निर्णय नसच्याए चुनाव नगराउने चेतावनी दिएका हुन् ।

केन्द्रीय निर्वाचन समितिको निर्णयविरुद्ध सप्तरीका अध्यक्ष श्रवणकुमार देव, सिरहाका अध्यक्ष मनोजकुमार वनैता, सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री, रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, बाराका अध्यक्ष रेशम तिवारी, पर्साका अध्यक्ष अनुप तिवारी, महोत्तरीका सचिव राजकरण महतो र धनुषाका सचिव बटुकनाथ झाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

उनीहरुले जोखिम मोलेर सदस्यता शुद्धीकरण गरे पनि केन्द्रीय निर्वाचन समितिले आफूखुशी नवीकरण गरेको आरोप लगाएका छन् । सार्वजनिक गरिएको निर्वाचन तालिकामा विधानअनुरुप जिल्ला, प्रदेश र केन्द्रको मनोनयन कार्यक्रम तथा समयावधिको समेत पालना नगरिएको भन्दै आपत्ति जनाइएको छ ।

‘सुर्खेत साधारणसभाले सदस्यता शुद्धीकरण गर्न समिति बनाउँदै जिल्ला शाखाहरुलाई निर्देशन दिएको सबैलाई अवगत भएकै हो’, विज्ञप्तीमा भनिएको छ, ‘त्यसअनुरुप देशभरका शाखाहरुले विभिन्न तनाव खेपेर भए पनि सदस्यता शुद्धीकरण गरेर पठाएको पनि सर्वविदितै छ । तर, केन्द्रले आफूखुशी सदस्यता थप गरी निर्वाचन समितिलाई सदस्यता नामावली बुझाउनु विधानको वर्खिलाप हो भन्ने हाम्रो ठहर रहेको छ । यसले केन्द्रीय अध्यक्ष र महासचिव समग्र संस्थाभन्दा माथि भएको र निरंकुश बनेको हाम्रो ठहर छ ।’

महिना दिनअघि सार्वजनिक गरिएको सदस्यताको सूचीले ठूलो विवाद भई महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा अध्यक्ष विपुल पोखरेलले सूची आधिकारिक होइन भन्दै विज्ञप्ति निकालेको तर, विज्ञप्तिमा सदस्यता नामावली सच्याउने प्रतिबद्धता गरेर ताला खुलाइए पनि त्यही सूची राखेर निर्वाचन समितिलाई बुझाउनुले केन्द्रले आफ्‌नो गलत चरित्रलाई आफैं उदांगो पारेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रले बलजफ्ती थपेका नामहरु नहटाइ, शुद्धीकरणको नाममा जिल्ला र प्रदेशले गरेको मेहनतलाई बेवास्ता गरी थोपरिएको मतदाता नामावली र विधानलाई मिचेर प्रकाशित निर्वाचन तालिकाअनुसार निर्वाचनका कार्यक्रम अगाडि बढाइए मधेश प्रदेशका जिल्ला शाखाहरुमा निर्वाचन गराउन नसक्ने विज्ञप्तिमा चेतावनी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर