कपिलवस्तु अस्पतालमा स्वीकृतिबिना पुराना रुख काटिएपछिको विवाद – Nepal Press

कपिलवस्तु अस्पतालमा स्वीकृतिबिना पुराना रुख काटिएपछिको विवाद

रपन्देही । कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालमा रहेका ९ पुराना रुखहरु स्वीकृतबिना काटिएपछि अहिले विवादमा तानिएको छ । तराईको अस्पताल परिसरमा चर्को गर्मी हुँदा शितल छहारी दिइरहेका ती ठूला रुखहरु काटिएपछि अहिले उजाड बनेको छ ।

परिसरभित्रका ९ वटा रुख गैरकानुनी रुपमा गोलिया र दाउरामा परिणत भइसकेको त्यहाँका कर्मचारीले नै बताएका छन् । ती रुखहरु अन्य कुनै तयारीबिना काटिएपछि अस्पतालमा आउने सेवाग्राही शितल खोज्न अस्पताल भवनको सहारा लिनुपरेको बताएका छन् ।

कपिलवस्तु अस्पताल प्रशासनले वन कार्यालयको अनुमति नलिई रुख काटिएको विषय बाहिर आएपछि अहिले विवादमा तानिएको हो । अस्पतालले प्रकृया पूरा नगरी २ महिना अगाडि रुख काटेको छ ।

सिसौ, आँप शिर्षा फूललगायतका रुख तत्कालीन मेसु विपिन जयसवालको मिलोमतोमा काटिएको त्यहाँका कर्मचारीले जनाएका छन् । मेसु जयसवालले सुटुक्क रुख कटान गर्ने मानिस बोलाई रुख काटेको र काटिएका रुखका गोलिया अहिले अलपत्र अवस्थामा रहेको छ ।

सार्वजनिक स्थलका रुखका काट्नको लागि जिल्ला वनको सिफारिसमा जिल्ला प्रशासन कार्यालयको बैठकले स्वीकृत दिनुपर्ने र बैठकले अवस्था विश्लेषण गरी काट्नु पर्ने नपर्ने औचित्य ठहर गरेपछि मात्र रुख काट्न पाउने नियम रहेको छ ।

तर प्रकृया पूरा नगरी रुख काटिए पनि सरोकारवाला निकाय मौन रहेका छन् । अस्पतालमा रहेको एउटा रुख सुकेपछि समितिले कटान गर्न आवश्यक रहेको रुख काट्ने निर्णय भएपनि अन्य कुनै प्रकृया पूरा नभएको नाम नखुलाउने शर्तमा एक कर्मचारीले बताए ।

यसबारे अस्पताल प्रशासन प्रमुख रत्नकर शुक्लासँग बुझ्दा आफू जानकारी पाएअनुसार अस्पताल प्रशासन समितिसँग एउटा सुकेको रुख काटने निर्णय गराएको बताए । उनका अनुसार निर्णय गराएको भएपनि कुनै लिखित प्रमाण भने आफूसँग नभएको जनाए । सम्बन्धित वन कार्यालयसँग समन्वय नभएको र निकाय मौन रहेको उनको भनाइ छ ।

यता डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत सन्त थिङले वन कार्यालयसँग रुख कटान अनुमति नलिइ काटिएको बताए ।

उनले भने, ‘रुख काटने भएपछि अस्पतालले वन कार्यालयसँग समन्वय गर्नुपर्ने हो तर आफूलाई कुनै विशेष जानकारी भएको छैन ।’ तर तत्कालीन विपिन मेसु जैसवालले अस्पताल विकास समितिमा निर्णय गराएर अस्पतालमा फोहोर निकासीका लागि योजना बनाएर बाटो निकाल्नका लागि काटिएको बताए । ‘केही ढलेका र सुकेका बुटाहरु व्यवस्थापन गरेका हौं, अगाडि सुकेका बुटाहरु जोखिम बढेर काटेको हो, विकास समितिमा सल्लाह गरेर सहमतिमा निर्णय गरेर काटेको हो, पुरानो मेसु आएपछि गलत हल्ला चलाइएको छ, काटिएका रुखहरु यहीँ छन्, कसैले केही स्वार्थमा गरेको होइन अस्पतालको विकासमा लागि गरेको हो’, उनले भने ।

यो अस्पतालमा यसअघि मेसु रहेका विपिनलाई हटाएर अहिले डाक्टर किशोर बन्जाडे मेसु बनेर आएका छन् । बन्जाडे विपिनअघि त्यहाँका मेसु रहेका थिए । अहिले बन्जाडे आएपछि विपिनका कमजोरी खोजेर बाहिर ल्याउने प्रयासमा छन् भने विपिनले बन्जाडेले गरेका गल्तीलाई बाहिर ल्याइरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर