डीपीआरविनाको अस्पताललाई डेढ करोड दिने केदार सरकारको निर्णयमा स्वास्थ्य कार्यालयको बन्देज – Nepal Press

डीपीआरविनाको अस्पताललाई डेढ करोड दिने केदार सरकारको निर्णयमा स्वास्थ्य कार्यालयको बन्देज

विराटनगर । कोशी प्रदेश सरकारले डीपीआर नै तयार नभएको अस्पताललाई दिने भनेको डेढ करोड रूपैयाँ अनुदान जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले रोकेको छ ।

आवश्यक कागजात नै नपुगी प्रदेश सरकारले इटहरीमा बनाउने भनिएको अस्पताललाई सो रकम अनुदानस्वरूप दिने निर्णय गरेको थियो । निर्णयपछि माघ ३ गते तत्कालीन प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अस्पतालसँग अनुदान दिने गरी सम्झौता समेत गरेका थिए ।

सो अस्पताल जनस्वास्थ्य सरोकार ट्रस्ट (फेक्ट) ले सञ्चालन गर्ने बताइएको छ । ट्रस्टले कीर्तिपुरको बर्न अस्पताल सञ्चालन गर्दै आएको छ । यस्तै सो संस्थाले काठमाडौं मोडल अस्पतालसमेत सञ्चालन गर्दै आएको छ ।

कीर्तिपुरमा जस्तै इटहरीमा पनि बर्न अस्पताल सञ्चालन गर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमार्फत अनुदान रकम लिने तयारी गरिएको थियो । सम्झौताअनुसारको आवश्यक कागजात पूरा नगरी अनुदान माग गर्न फेक्ट नेपाल जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा गएपछि सो अनुदान रकम रोकिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले अनुदान दिनका लागि आवश्यक कागजात नपुगेपछि अनुदान रोकिएको जनाएको छ । कार्यालय प्रमुख सागर प्रसाईँले लेखाले दिन नमिल्ने बताएपछि रकम रोकिएको बताए । यस विषयमा थप जानकारी लेखा अधिकृतलाई भएको बताए ।

यो पनि पढ्नुहोस्- डीपीआर नै नबनेको अस्पताललाई प्रदेश सरकारको डेढ करोड अनुदान

स्वास्थ्य कार्यालय स्रोतले भन्यो, ‘अनुदान दिनका लागि न भवन छ न ? भवनको नक्सा पास छ ? कुनै संरचना नै नभएको अस्पताललाई कसरी अनुदान दिने ?’

अनुदान दिनका लागि निर्णय हुँदा अस्पतालको डीपीआरसमेत तयार भएर पास भएको थिएन । अस्पताललाई अनुदान दिने निर्णय हुँदा वातावरणीय प्रभाव मूल्यांकन र माटोको परीक्षण मात्रै सम्पन्न गरेको थियो । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले तीन महिनाभित्र अस्पताल भवन निर्माण सुरू गर्न १ करोड ५० लाख बजेट दिने सम्झौता गरेका थिए ।

तर, सम्झौता भएपछि पनि अस्पतालले भने निर्माणको काम सुरू गर्न सकेको छैन । भवन निर्माणको काम नै सुरू नगरी अनुदान माग गर्न गएकाले जिल्ला स्वास्थ्य कार्यालयले अनुदान रोकेको हो । इटहरी उपमहानगरपालिका- १८ मा बन्ने भनिएको अस्पतालको नाममा २ विगाह १० कठ्ठा जग्गा रहेको छ ।

सो जग्गामा यसअघि पटक-पटक अस्पतालको शिलान्यास भएको छ । नक्सा पासविना नै शिलान्यास भए पनि अस्पताल भने बन्न सकेको छैन । २०६६ सालमा इटहरीमा ५० शय्याको बर्न अस्पताल र ओठ तालु फाटेका बिरामीहरूको उपचारका लागि विशेषज्ञ सेवा दिने भन्दै कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सो अस्पतालको कम्पाउन्ड वाल निर्माणका लागि शिलान्यास गरेका थिए ।

कम्पाउन्ड वालको शिलान्यास गरे पनि अहिले सो जग्गा तारले बारिएको छ । तारले बारिएको जग्गामा अस्पताल बनाउन ट्रस्टले प्रदेश सरकारसँग आर्थिक सहयोग माग्दै आएको थियो । यसअघिका सरकारले अनुदान नदिएपछि भवन बन्ने प्रक्रिया नै अघि बढेको थिएन ।

तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७४ साल फागुन १६ गते सो अस्पतालको शिलान्याससमेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर