स्यानिटरी प्याडसम्बन्धी निर्देशिका संशोधनबारे किशोरीसँग छलफल – Nepal Press

स्यानिटरी प्याडसम्बन्धी निर्देशिका संशोधनबारे किशोरीसँग छलफल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन भइरहेको सन्दर्भमा लक्षित समूहकै किशोरी विद्यार्थीसँग छलफल गरी सुझाव लिइएको छ ।

कुनै पनि नीति बनाउँदा त्यसबाट प्रत्यक्ष प्रभावित हुने लक्षित समूहकै सहभागिता र सुझावमा बनाउने मन्त्रालयको नीति अनुरूप सामुदायिक विद्यालयका छात्रासँगै अन्तरक्रिया गरिएको मन्त्रालयले जनाएको हो ।

काठमाडौँका विभिन्न सात वटा सामुदायिक विद्यालयमा विभिन्न तहमा अध्ययनरत २१ जना प्रतिनिधि किशोरीसँग छलफल गरी सुझाव लिइएको हो । अर्को चरणमा काठमाडौँ बाहिरका विभिन्न स्थानबाट र अनलाइन माध्यमबाट समेत सुझाव लिइनेछ । यसअघि अघिल्लो हप्ता मन्त्रालयमा विभिन्न सरोकारवाला र विज्ञसँग छलफल गरिएको थियो ।

सरकारले छात्रालाई वितरण गर्दै आएको प्याड सरकारी मापदण्ड अनुसार खरिद वितरण र गुणस्तर नभएको भनी विभिन्न सरोकारवाला, संघसंस्था, प्रयोगकर्ता र सञ्चार माध्यमबाट गुनासो आएपछि मन्त्रालयले कार्यविधि संशोधनका लागि सुझाव लिन थालेको हो ।

छात्रालाई वितरण हुने प्याडको गुणस्तर र मापदण्ड सुधार गर्ने तथा प्रयोग गरेका प्याडको वातावरणमैत्री व्यवस्थापन गर्न छलफलबाट प्राप्त सुझावले कार्यविधिको व्यवहारिक परिमार्जनमा सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर