चलचित्र ‘बाटो-रोड टु डेथ’को भव्य प्रिमियर, कसले के भने? – Nepal Press

चलचित्र ‘बाटो-रोड टु डेथ’को भव्य प्रिमियर, कसले के भने?

काठमाडौं। यही शुक्रवारबाट रिलिज हुने नेपाली चलचित्र ‘बाटो–रोड टु डेथ’को बुधवार साँझ प्रिमियर शो आयोजना गरियो। ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा चलचित्रको सम्पूर्ण निर्माण टिमसहित चलचित्रकर्मी र पत्रकारहरूको बाक्लो उपस्थिति थियो।

चलचित्रको प्रिमियर इभेन्टलाई वि.सं २०३५ सालदेखि सक्रिय राठी ग्रुपको ‘एढेसिभ उत्पादन राठीकोल’ले बोन्डिङ पार्टनरको रूपमा प्रायोजन गरेको थियो। प्रिमियरमा राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी, राठी कोलका सिईओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका एचओडी रिदम शाह लगायत उपस्थित थिए। अध्यक्ष राठीले चलचित्र क्षेत्रमा पहिलो पटक जोडिएर काम गर्न पाउँदा गर्व महसुस गरेको र आगामी दिनमा पनि यस क्षेत्रमा कुनै न कुनै बहानामा जोडिइरहने प्रतिबद्धता व्यक्त गरे।

नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यस चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा यो चलचित्र सबैले प्रशंसा गरेको बताए। उनले यस्तै प्रशंसा नेपाली दर्शकहरूबाट पनि पाउने आशा लिएको बताए। उनले भने,‘नेपाली चलचित्रको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ। आजकल दर्शक फिल्ममेकर बन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले चलचित्र राम्रो नै बनाउनु पर्छ।’

चलचित्रका अभिनेता सुलक्षण भारतीले यो चलचित्रमा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए। उनले यस प्रकारको चलचित्र नेपालमा यसअघि नबनेको बताए। अर्का अभिनेता उत्पल झाले लामो समयको प्रतीक्षापछि चलचित्र रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे। अभिनेत्री रक्षा थापाले पनि यो चलचित्रमा एकदमै धेरै भावना जोडिएको बताइन्। उनले ‘बाटो’ हेर्दा चलचित्र सकिएको थाहा नै नहुने बताइन्। अभिनेत्री मिथिला शर्माले यस चलचित्रमा आफूलाई अभिनयको लागि लिएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिइन्।

अहिलेसम्म नेपालमा बनेका चलचित्रहरू मध्ये यो चलचित्र केही फरक बनेको र यसले दर्शकलाई एउटा बाटोमा डोर्‍याउन सफल रहने प्रिमियरमा उपस्थित सहभागीले दिए। प्राविधिक रूपमा अत्यन्त गहन तरिकाले काम भएको र हरेक कलाकारको काम उत्कृष्ट रहेको प्रिमियरमा सहभागीले जनाए।

काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रका निर्माता चन्दन झा हुन्। यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छांयाकार शरण ऋषिले छायाङ्कन गरेका छन्। चलचित्रका लाइन प्रोड्युसरहरू शङ्कर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन् भने कार्यकारी निर्माताहरू रणधीर कुमार झा, अश्विनी घिमिरे, सदिक्षा महर्जन, नवीन अवाल, आकाङ्क्षा बस्नेत र विशाखा विक्रम थापा हुन्। त्यस्तै, चलचित्रका सह निर्माताहरू विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत र स्मृति झा हुन्।

चलचित्रमा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। जेठ ३२ गतेबाट नेपालभर रिलिज हुने यस चलचित्रलाई डिसिएनले वितरण गर्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *